लुम्बिनी प्रदेशको श्रम मन्त्रीमा निर्माता राणा नियुक्त
फिल्म निर्माता तथा निर्देशक रोज राणा लुम्बिनी प्रदेशको मन्त्रीमा नियुक्त भएका छन् । नेपाली काँग्रेस पार्टीमा आबद्ध रहेका उद्योग वाणिज्य, श्रम तथा यातायात मन्त्रीको जिम्मेवारी पाएका हुन् ।
निर्माता रोज राणा प्युठानबाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए । रोज नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा निकट मानिन्छन् । उनले समय–समयमा देउवासँग तस्विर पनि सामाजिक संजालमा पोष्ट गर्दै आएको देख्न सकिन्छ ।
रोज राणा श्रम मन्त्री भएसँगै अब उनको फिल्म सक्रियता कम हुने पक्का छ । किनकी, उनले लकडाउन लगतै नयाँ फिल्म निर्माण गर्ने घोषणा गरेका थिए । तर, राजनीतिमा व्यस्त हुन थालेपछि उनले फिल्मी दुनियाँबाट आफूलाई टाढा राखेका छन् ।
रोज राणा कुनै समयमा नेपाली फिल्मका शक्तिशाली निर्माता समेत थिए । उनको फिल्म रिलिज हुँदा अरु निर्माताले फिल्म रिलिज गर्ने हिम्मत नै गर्दैनथ्य ।
रोजले ‘दादागिरी, डन, खलनायक, महान, टक्कर दुई मुटुको, म छुन तिम्रो’ लगायतका फिल्ममा लगानी गरेका छन् । यस्तै, उनले फिल्म ‘मेरो पैसा खोई र जय परशुराम’को निर्देशन पनि गरेका थिए । ‘जय परशुराम’ असफल भएपछि उनले फिल्म निर्माण गरेका छैनन् । उनले फिल्म ‘टक्कर दुई मुटुको’मा अभिनय समेत गरेका छन् ।
प्रतिक्रिया