दरबारको कथामा ‘राजमहल’, रमेश र सलोनसँग आँचलको केमेष्ट्री

फिल्म ‘राजमहल’ निर्माणको घोषणा गरिएको छ । बिहिबार काठमाडौंमा आयोजना गरिएको पत्रकार सम्मेलनमा फिल्मका कलाकार र फिल्मको बारेमा जानकारी दिइयो । सबिन कुमार तेलाङ्गीको डेब्यू निर्देशनमा तयार हुन लागेको यो फिल्ममा नायिका आँचल शर्मालाई फरक भूमिकामा देखाउने तयारी निर्माणपक्षले गरेको छ ।

कार्यक्रममा आँचलको भूमिका र उनको जोडीको बारेमा केही पनि जानकारी दिइएको थिएन । फिल्ममा आँचलको साथमा नायकद्धय रमेश उप्रेती र सलोन बस्नेत पनि मुख्य भूमिकामा देखिदैछन् । यस्तै, यो फिल्मबाट टिकटकर सिम्रन पन्त र मिस पवीले डेब्यू गर्दैछन् ।

करिब, चार करोडको बजेटमा तयार हुने यो फिल्मको छायांकन माघको पहिलो साताबाट अष्ट्रेलीयाबाट सुरु हुनेछ । यस्तै, फिल्मको छायांकन न्युजिल्यान्डमा पनि गर्ने तयारी निर्माणपक्षको छ ।

फिल्मको ७० प्रतिशत छायांकन भने नेपालमा हुनेछ । फिल्ममा मिथिला शर्मा, अर्जुन श्रेष्ठ, सरोज खनाल, रेसम गुरुङ, अजय कुमार रोका, अजय लामा, दिनेश सिग्देल, पूजा भण्डारी लगायतको पनि मुख्य भूमिका रहनेछ । पुरुषोत्तम प्रधानको छायांकन रहने फिल्ममा अर्जुन पोखरेल र बाबुल गिरीको संगीत रहनेछ । फिल्मका कार्यकारी निर्माता ऋषि लामिछाने हुन् भने मुख्य निर्माताको रुपमा शोभा श्रेष्ठ र यश बहादुर गुरुङ छन् ।

फिल्मको अन्तराष्ट्रिय निर्मातामा अनिल पाण्डे र प्रिन्स युवराज कार्की छन् । यस्तै, फिल्मको सह–निर्मातामा साहिल श्रेष्ठ र झगेन्द्र धिमाल छन् भने अष्ट्रेलीयाको तर्फबाट माधव गहतराजले सहकार्य गरेका छन् । 

कार्यक्रममा बोल्दै नायिका आँचल शर्माले आफूले पाएको भूमिका अनुसार आफू काम गर्नका लागि आतुर रहेको बताइन् । यस्तै, फिल्मका निर्देशक तेलाङ्गीले फिल्मको कथा अनुसार आफूले  निर्देशनमा न्याय गर्ने प्रतिबद्धता व्यक्त गरे ।