‘बरिष्ठ बलराम’को छायांकन सेड्यूल फेरि सर्यो, दिव्याको डेब्यू नै अलमलमा


नायक दिलीप रायमाझीकी छोरी दिव्‍या रायमाझीले डेब्यू गर्न लागेको फिल्म ‘वरिष्ठ बलराम’को छायांकन सुरु हुन सकिरहेको छैन । यो फिल्ममा दिव्‍या नायक खगेन्द्र लामिछानेको जोडीको रुपमा देखिदैछिन् । 

तर, यो फिल्मको छायांकन निर्धारित समयमा सुरु हुन सकेन । निर्माणपक्षले सुरुवातमा फिल्मलाई भदौबाट छायांकन गर्ने भनिएको थियो । यसपछि, फेरि फिल्मलाई पौषबाट छायांकन गर्ने जानकारी गराइयो ।  

तर, जाडो महिनामा फिल्म छायांकन गर्न सहज नहुने भन्दै यसका निर्माता रोहित अधिकारीले सेड्यूल चैत्र महिनामा पुर्याएका छन् । जसले गर्दा, यो फिल्मको छायांकन सुरु हुन अझै ४ महिना लाग्ने देखिएको छ । 

सुरेन्द्र पौडेलको निर्देशनमा बन्ने फिल्मको छायांकन सुरु नहुँदा दिव्‍याको डेब्युको समय पनि पछि सरिरहेको छ । 

नेपाली फिल्मका दर्शकहरु दिव्‍याको डेब्यू फिल्म हेर्नका लागि पर्खिरहेका छन् । दिव्‍या पनि फिल्मलाई लिएर उत्साहित छिन् । 

दिव्‍याको सुन्दरताको चर्चा सामाजिक संजालमा खुबै हुने गर्दछ । अब, उनले फिल्ममा पनि उत्कृष्ट काम गरिन् भने उनको फिल्म क्षेत्रमा भविष्य सुखद हुनेछ । 

यो फिल्मका निर्माता रोहित अधिकारीले अर्को फिल्म ‘फर्की फर्की’को पनि निर्माण गरिरहेका छन् ।