नीता र हरिहरले सुरु गरे ह्रस्व दीर्घ’को छायांकन, विपना आज जोडिदै

चन्द्र पन्तको निर्देशनमा तयार भइरहेको फिल्म ‘ह्रस्व दीर्घ’को दोस्रो चरणको छायांकन सोमबारबाट चितवनमा सुरु भएको छ । चितवनको सौराहा र नारायणी नदी किनारामा यो फिल्मको छायांकन भइरहेको छ ।

पहिलो चरणको छायांकन हैदराबादको रामोजी फिल्म सिटीमा भएको थियो । यसपछि, भने फिल्मको छायांकन केही महिना रोकियो । जसले गर्दा, अब यो फिल्म बन्छ या बन्दैन भन्ने खालका अड्कलबाजीहरु सुरु भएका थिए । तर, निर्माणपक्षले चितवनबाट फिल्मको छायांकन सुरु गरेको हो । 

नीता फिल्मसको ब्यानरमा तयार भइरहेको यो फिल्ममा नीता ढुंगाना, हरिहर अधिकारी, विपना थापा, गरिमा शर्मा लगायतका कलाकारको अभिनय छ । यस्तै, फिल्ममा साउथका केही कलाकारहरूको समेत अभिनय रहनेछ ।

फिल्ममा साउथका चर्चित कलाकार ब्रम्हानन्दन, प्रदीप राउत लगायतको पनि अभिनय रहनेछ । 

यसैबिच, यो फिल्ममा आजबाट नायिका विपना थापा पनि जोडिन लागेको वुझिएको छ । विपनाको फिल्ममा कस्तो भूमिका रहनेछ भन्ने खुलेको छैन ।

चितवनमा छायांकन भएपछि फिल्मको तेस्रो सेड्यूलको छायांकन मुम्बईमा गरिनेछ । 

यो फिल्मलाई कविर लालले खिचिरहेका छन् । उनी, बलिउडका चर्चित छायांकार हुन् ।