अनमोल र प्रदीपको सम्बन्ध कस्तो हो ?

नायक प्रदीप खड्का र अर्का नायक अनमोल केसीको सम्बन्धले फिल्म क्षेत्रमा सधैं नै तरंग पैदा गर्छ । कार्यक्रममा कहिलेकाही भेट्दा एक अर्कासँग अङ्कमाल गर्ने अनमोल र प्रदीप सार्वजनिक रुपमा भने कटाक्ष गर्न पछि पर्दैनन् । अझ, बेलाबखत अनमोललाई लिएर प्रदीपको कटाक्ष खुबै सुनिन्छ । 
फिल्म क्षेत्रमा एउटै स्थानमा उभिएकाले पनि यी दुई एक अर्कासँग शीतयुद्धमा छन् भन्ने तर्क सुन्ने गरिन्छ । 

तर, नायक प्रदीप खड्का यो कुरा मान्न तयार छैनन् । उनले, मिडिया कुराकानीमा आफू र अनमोलबिचको सम्बन्ध खराब नरहेको जिकिर गरे । 

अनमोल केसीले यदि फिल्म ‘बलिदान’मा काम गरे र आफूलाई उक्त फिल्मबाट एक सिनका लागि अफर आयो भने पनि आफू काम गर्न तयार रहेको उनको भनाई छ । 

प्रदीपले अनमोलसँग मिडियामा आए जस्तो खराब सम्बन्ध आफ्नो नरहेको बताए । यसो भन्दै गर्दा प्रदीपले अनमोल र आफ्नो बारेमा खबरहरू आइरहँदा रमाइलो भइरहेको तर्क गरे । 

नेपाली फिल्म क्षेत्रमा अनमोल र प्रदीपलाई कामको अभाव छैन । दुवै नायकलाई फिल्मको उच्च अफर छ, तर दुवै मिलाएर कम मात्र फिल्ममा काम गरिरहेका छन् । यस्तो अवस्थामा एक आपसमा दुश्मनी हुनुपर्ने कारण नरहेको प्रदीपको तर्क छ । 

प्रदीप खड्का र अनमोल केसीबीच भेटघाट निकै कम छ । अझ, प्रदीपले अनमोलका पिता भुवन केसीको विषयमा गरेको मिडियाबाजीले गर्दा पनि आम मानिसहरूलाई उनीहरूको सम्बन्ध खराब रहेको भान पर्ने गएको हो । 

यी दुई नायकले सार्वजनिक रुपमा जे भनेपनि, दुबै एक अर्कासँग सकारात्मक भने छैनन् ।