साम्राज्ञीले साइन गरेका २ फिल्म, जुन घोषणा भएर पनि बनेनन्

नायिका सम्राज्ञी राज्यलक्ष्मी शाह अहिले फिल्म क्षेत्रबाट टाढा भए जस्तै देखिएकी छिन् । फिल्म ‘नांगो गाउँ’मा सह–नायिकाको भूमिकामा काम गरेपछि उनले नयाँ फिल्म साइन गरेकी छैनन् । नेपाली फिल्मकी सर्वाधिक माग भएकी यी नायिकाले अन्ततः किन आज काम गरिरहेकी छैनन्, सबैका लागि आश्चर्यको विषय बनेको छ । 

तर, साम्राज्ञीले लकडाउनपछि दुई वटा फिल्म साइन गरेकी थिइन् । यी दुवै फिल्म नबन्दा पनि उनलाई केही न केही समस्या भएको पक्कै हो । 

साम्राज्ञीले ३ बर्ष अगाडि प्रवेश पौडेलको निर्देशनमा बन्ने एउटा फिल्म साइन गरेकी थिइन् । यो फिल्ममा कलाकारको रुपमा मनिष राउत फाइनल भइसकेका थिए । फिल्ममा सम्राज्ञी र अर्की नायिका आना शर्माले काम गर्ने पक्का भएको थियो ।

सिबड्स पिक्चर्स र सौर्य इन्टरटेन्मेन्टले यो फिल्मको निर्माण गर्न लागेका थिए । डक्टर डेनिमको लगानीमा बन्न लागेको यो फिल्ममा छत्रजंग पाण्डे र अनुप पौडेलको लगानी रहने पक्का भएको थियो । तर, यो फिल्म निर्माण भएन । 

यस्तै, साम्राज्ञीले फिल्म ‘योलो’ पनि साइन गरेकी थिइन् । विवेक सुवेदीले निर्देशन गर्न लागेको यो फिल्ममा साम्राज्ञी र नायिका उपासना सिंह ठकुरी फाइनल भएका थिए । यो फिल्मको छायांकन इटालीमा गरिने निर्माणपक्षले बताएको थियो । तर, यो फिल्म पनि निर्माण हुन सकेन । 

यसरी दुई फिल्म साइन गरेकी साम्राज्ञीको काम अगाडि बढ्न सकेन । लकडाउनपछि उनले अभिनय गरेका फिल्मले पनि राम्रो व्यापार गर्न सकेनन् । जसका कारण, साम्राज्ञीको करिअर कमजोर बनेको बुझ्न सकिन्छ ।