सन्तोषको २२ बर्षदेखिको सपना, जसलाई ‘चित्रा’ले पुरा गर्यो

२२ वर्षदेखि मनभित्र ठूलो पर्दाको नायक बन्ने सपना पालेर बसेका थिए, सन्तोष अधिकारीले । उनको मनको यो सुषुप्त चाहना कोरोनाको लकडाउनको समयमा राम्रैसँग ब्यूँझियो । मोबाइलको क्यामेरा अगाडि उभिएर उनले आफूलाई थुप्रै भूमिकाहरूको र अभिनयका नवरसहरुमा नियाले । घरी नक्कल उतारे, घरी आफैंलाई जगाए ।

टिकटकमा थुप्रै भिडियो बनाए र ड्राफ्टमा थुपारे । उनको यो हर्कतले पत्नी र छोरा त दिक्दार नै भइसकेका थिए । छोराको हातमा क्यामेरा थमाउँदै खिच्न सहयोग माग्दा बाबुको हर्कतका कारण हैरान छोराले  मुखै फोरेर दिक्दारी पोख्दै भने–‘ओ ड्याड कम अन ।’ 

पौषको २७ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘चित्रा’बाट सन्तोषले आफ्नो २२ बर्ष अगाडिको सपना पुरा गर्दैछन् । त्यसो त उनी ‘आमा’, ‘घर’ लगायतका फिल्मका निर्माता मध्येका एक हुन् । निर्माताको अनुभवपछि उनी अभिनयको परीक्षा दिन तयार भएका छन् । डबिङमा आफूलाई पर्दामा हेर्दा दंग परेका उनले यो फिल्मबाट राम्रै आशा राखेको बताए । यही फिल्म र उनको डेब्यू यात्राका बारेमा कुरा गर्दा उनी यस्तो सुनिए–

‘चित्रा’को मनपरेको कुरा के हो?

मलाई यसको विषयवस्तुले छोएको छ । 

‘चित्रा’मा आफूले निर्वाहा गरेको भूमिकालाई कुन आधारमा न्याय गर्न सक्छु जस्तो लाग्यो ?

यो एउटा बाबुको भूमिका हो, जसका सन्तानहरु छन् । म आफै पनि एउटा बाबु हुनुको नाताले यसको भावना राम्रोसँग बुझेको छु । 

पर्दाभित्र र बाहिरको बाबुमा के फरक हुन्छ जस्तो लाग्छ ? 

पर्दामा पनि वास्तविक जीवनका भोगाइहरूलाई नै प्रस्तुत गर्ने हो, केही संशोधनसहित । त्यसैले त्यसले बोक्ने भावनामा खासै फरक हुन्छ जस्तो मलाई लाग्दैन । 

यसका लागि के–कस्तो तयारी गर्नुपर्‍यो ?

व्यापक तयारी नै गर्नुपर्यो त नभनौँ । तर, जीवनले धेरै कुराहरू सिकाएको छ । मैले यस पात्रलाई प्रत्येक पलहरुमा अनुभव गरेको छु । त्यही अनुभवको अनुभूतिलाई पात्रसँग जोडेको छु । यसमा अभिनय सिकेको, नाँच सिकेको कुरालाई म एउटा गणित ठान्दछु । त्यही गणित र अनुभवको अनुभूतिलाई मिसाएर मैले यो पात्रमा आफूलाई उभ्याउने काम गरेको छु । यसका लागि मलाई केही समय त लाग्यो । 

तपाईँको परिभाषामा एउटा अभिनेता के हो ?

आफ्नो भूमिकालाई अभिनयका माध्यमबाट न्याय गर्न सक्ने मान्छे, जसले आफ्नो चरित्रको सूक्ष्मतालाई समेत प्रस्तुत गर्नसक्छ ।

‘चित्रा’मा गरेको भूमिकामा आफूले कति न्याय गरेछु जस्तो लाग्छ ?

डबिङमा हेर्दा मैले मेरो पात्रलाई सतप्रतिशत न्याय गरेको छु भन्ने भान भयो । म आफ्नो प्रशंसा आफै गरेर रमाउने मान्छे होइन, अरूले गर्दा मात्र आफ्नो कामले न्याय पाउँछ भन्नेमा विश्वास राख्छु । दर्शक बनेर हेर्दा म आफै दंग परें, मैले न्याय गरेछु जस्तो लाग्यो । 

यो फिल्मबाट तपाईलाई प्राप्त हुने कुरा के हो ?

यसले सन्तोष अधिकारी एउटा अभिनेता हो भन्ने परिचय दिन्छ जस्तो लाग्छ ।

आफूलाई अभिनेताको रुपमा चिनाउन तपाइलाई कति बर्ष लाग्यो ?

२२ वर्ष नै भन्नुपर्छ । अब गणितीय मिहिनेत ४–५ वर्ष भनम् न । बीचमा कोरोना महामारी आयो त्यो बेलामा मोबाइलमा आफूलाई थुप्रैपटक रेकर्ड गरेर हेरेँ । मैले यो काम यति गरेँ कि मेरो पारा देखेर मेरो बच्चा र पत्नी हुनसम्मको दिक्क भए । टिकटक पनि बनाएँ, यसका लागि छोराको सहयोग माग्थे, ऊ यत्ति दिक्क भयो कि ‘ओ ड्याड कम अन’ भन्थ्यो । म फेरि गर्नुपर्छ भनेपछि लागि परेको प¥यौ गर्ने मान्छे परेँ ।

फिल्ममा निर्माता समेत हुनुहुन्छ, त्यसैले यसको सारा जस–अपजस तपाई माथि नै आउने पक्का छ । यसका लागि तयार हुनुहुन्छ ?

म सबै कुरा फेस गर्न तयार भएरै आएको हुँ । अब यसमा आउने भनेको युनिभर्सल कमेन्टहरू हुन्, तिनले मलाई खुशी नै दिन्छ । मान्छेले आफूले गरेको गल्ती स्वीकार गर्ने क्षमता राख्नुपर्छ । मैले त कुनै गल्ती गरेको नै छैन । यसमा म कार्यकारी निर्माता मात्र हो, निर्मातामा अरू साथीहरू हुनुहुन्छ । नाम देखिँदा म अगाडि छु, त्यस कारणले जे जस्तो परिणाम आउँछ म त्यसको सामना गर्न तयार छु ।

‘चित्रा’’को विषयवस्तु मनपरेको छ भनेर अघि भन्नुभयो, मनपरेको विषयवस्तु कति प्रतिशत पर्दामा रुपान्तरण भएको पाउनुभयो ?

मैले ६०–७० प्रतिशत रुपान्तरण भएको पाएको छु । निर्देशकको कोणबाट त निर्देशकले उचित जवाफ दिनुहुनेछ यसमा । फेरि मलाई यो पनि थाहा छ कि स्क्रिप्टको ३०–४० प्रतिशत निकाल्नसक्नु भयो भने पनि त्यो फिल्म सफल हुन्छ ।

यो फिल्ममा सबैभन्दा बढि मनपरेको कुरा के हो ? 

यसमा मनपरेको कुरा एउटामात्रै छैन, दुई चार वटा नै छन्। पारिवारिक कथा, एक्सन, गीतसंगीत सबै नै मनपरेको छ ।

कुन बर्गका दर्शकले यो फिल्मलाई मन पराउलान् जस्तो लाग्छ ?

यो सबैखाले दर्शक लक्षित पारिवारिक फिल्म हो । पारिवारिक कथावस्तु त्यसमाथि बाबु छोरीको कथा भएकाले यो वर्ग विशेष भन्दा सबै दर्शकको रोजाइमा पर्ने फिल्म हो । अस्ति भर्खर हामीले १० वर्ष मुनीका बालबालिकालाई निःशुल्क फिल्म देखाउने कुरा सार्वजनिक गरि नै सकेको कुराबाट पनि यो फिल्म सबै दर्शकका लागि हो भन्ने त छर्लङ्ग भइसक्यो ।

फिल्ममा काम गर्दा तपाइलाई गाह्रो र सजिलो भएका दृश्यहरू कुनै छन् ?

त्यस्तो केही गाह्रो त भएन । एक्सन आदि कुराहरू पहिले नै अभ्यास प्रशस्त गरेको थिएँ । अब काम गर्दा भएको शारीरिक थकाइलाई त के गाह्रो भयो भनेर भन्नु र, होइन त । 

आफू बाहेक फिल्ममा कस्को काम धेरै मनपर्‍यो ?

म बाहेक यो फिल्ममा सबै प्रमाणित अभिनेता र अभिनेत्रीहरू हुनुहुन्छ । यस्तोमा मैले मलाई को धेरै मनपर्‍यो भनेर मूल्याङ्कनसहित भन्ने मेरो क्षमता छैन, बरु उहाँहरूलाई सोध्नुहोला म कस्तो अभिनेता निस्किए भनेर ?