नायिकाहरुमा एक्सनको मोह

नायिका पूजा शर्माले फिल्म ‘दान्भी’मा काम गरिन् । यो फिल्मको टिजर सार्वजनिक भएपछि पूजाको चर्चा चुलिएको छ । पूजालाई एक्सन फिल्मका लागि अफर आउन थालेको छ ।

नेपाली फिल्ममा नायिकाहरूले एक्सन गरेको कमै मात्र देखिन्छ । तर, एक्सनमा नायिकाहरू जम्न सके भने यसले बजारमा राम्रो प्रभाव पार्नेछ । बलिउडमा त अहिले एक्सन फिल्मको लहर नै चलेको छ । 

फिल्म ‘दान्भी’मा पूजाले नयाँ प्रकारको एक्सन गरेकी छिन् । यसका लागि आफूले सकेसम्म आफै काम गर्ने प्रयास गरेको पूजाको भनाई छ । 

नायिकाहरूमा अब एक्सनको लहर चल्ने देखिएको छ । नायिका आँचल शर्माले पनि एक्सन सिक्दै गरेको भिडियो केही समय अगाडि पोष्ट गरेकी थिइन् । 

आँचलले पनि आफूलाई एक्सन फिल्ममा काम गर्न मन लागेको बताएकी छिन् । यसैले, चाँडै नै आँचललाई एक्सन फिल्ममा देखिने संभावना बढेको छ । 

नायिका प्रियंका कार्कीले पनि एक्सन फिल्मबाट आफूलाई दर्शक माझ ल्याउने तयारी गरेकी छिन् । प्रियंकाले आफूले चाँडै नै एक्सन फिल्ममा काम गर्न लागेको बताइसकेकी छिन् । यो उनको होम प्रोडक्शनकै फिल्म हुनेछ । प्रियंकाले एक्सनका लागि तालिम पनि लिइरहेकी छिन् । यसरी हेर्दा, नायिकाहरूमा एक्सनको लहर चल्ने देखिएको छ । 

नायक केन्द्रित नेपाली फिल्म क्षेत्रले नायिकाहरूलाई एक्सनमा रुचायो भने, फिल्म क्षेत्रले नयाँ बाटो कोर्नेछ ।