पल शाहको बलात्कारको मुद्दा दोहोर्याएर हेर्न सर्वोच्चको अनुमती

नाबालिका बलात्कारको आरोपमा जिल्ला र उच्च अदालतबाट सफाइ पाएका नायक पल शाहको मुद्दालाई सर्वोच्च अदालतले दोहोर्याएर हेर्ने भएको छ । 

उच्च अदालतको फैसला विरुद्ध महान्यायाधिवक्ताको कार्यालयले सर्वोच्च अदालतमा दोहोर्याएर मुद्दा हेरि पाउँ भन्दै निवेदन दिएको थियो । उक्त निवेदनमा मङसिर २२ गते सुनुवाइ गर्दै न्यायाधीश सुष्मालता माथेमा र हरि फुयाँलको इजलासले उच्च अदालतले दिएको सफाइको फैसला दोहोर्याएर हेर्न अनुमति दिएको हो । 

योसँगै पलको मुद्दा अब सर्वोच्च अदालतमा पुगेको छ । उच्च अदालत पोखराका न्यायाधीशले पल शाहको मुद्दामा प्रमाण नपुगेको भन्दै उनलाई सफाइ दिएका थिए । तर, उच्च अदालतका न्यायाधीशले मुल्यांकन राम्रोसँग नगरेको, कानुनहरूको व्याख्या त्रुटी पूर्ण तरिकाले गरेको र नाबालिग बलात्कारका मुद्दामा सर्वोच्च अदालतले प्रतिपादन गरेको सिद्धान्तको प्रतिकूल हुने गरि सफाइ दिएको भन्दै सर्वोच्चमा यो मुद्दा दोहोर्याएर हेर्न माग गरिएको थियो । 

सर्वोच्चले आदेशमा भनेको छ–‘यसमा पीडित नाबालक रहेको देखिएकाले पीडितको बकपत्र र प्रतिवादीको बयान तथा शारीरिक परीक्षण प्रतिवेदन तथा चिकित्सकको बकपत्र, पीडित र प्रतिवादी बीचको अडियो रेकर्ड र त्यसको प्रतिवादीबाट अदालतको बयानको स.ज ११ मा गरेको स्विकारोक्ति समेतका प्रमाणको समुचित मुल्यांकन नगरि भएको उच्च अदालत पोखराको फैसलामा प्रमाण ऐन तथा मुलुकी अपराध संहिताको व्याख्यात्मक त्रुटी र सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्त समेतको प्रतिकूल भएकाले प्रस्तुत मुद्दा दोहोर्याएर हेर्ने अनुमति प्रदान गरिएको छ ।’

जिल्ला अदालत तनहुँ र उच्च अदालत पोखराबाट सफाइ पाएपछि नायक पल शाह गतबर्ष फागुन १५ गते रिहा भएका थिए ।