३५ दिनपछि हलमा दुई नयाँ नेपाली फिल्म प्रदर्शन हुँदै

फ्राइडे रिलिज अन्तर्गत आज शुक्रबारबाट दुई नयाँ नेपाली फिल्म प्रदर्शनमा आएका छन् । यी फिल्म कार्तिक २४ गते रिलिज भएको फिल्म ‘दिमाग खराब’पछि नयाँ नेपाली फिल्मका रुपमा हलमा आएका हुन् । जसमा आशुतोषध्वज कार्कीको डेब्यू निर्देशन रहेको ‘जम्प’ र उदय सुब्बा निर्देशित ‘दुई कदम’ रहेका छन् ।

फिल्म ‘जम्प’मा सरोज श्रेष्ठ, बिनिता थापामगर, सन्देश शाक्य, सगुन तामाङ, मन्जिल जिसी, शंकर महर्जन, एन्जेलिका खत्री, अरोष्मा रन्जित, प्रज्वल खँडेल, सुदिप भुषाल, इलिस विष्ट तथा रितेश राजकर्णिकारको अभिनय रहेको छ ।

साइको थ्रिलर फिल्म ‘जम्प’ को कथा निर्देशक कार्कीले नै लेखेका हुन्। यस फिल्मको गत आइतबार गरिएको थियो । प्रिमियरपछि धेरैले फिल्म भिन्न शैलीमा बनेको र हलिउड फिल्ममा रुचि राख्नेका लागि यो विशेष रुचीकर हुनसक्ने प्रतिक्रिया दिएका थिए । उनीहरुले फिल्मको शैली फरक रहेको र ध्यान दिएर हेर्नुपर्ने बताएका थिए । 

‘जम्पलाई देशभरका केही मल्टिप्लेक्स र केही सिंगल थियटर शोज दिएका छन् भने देशकै सबै भन्दा ठुलो क्यूएफएक्स चेनले कुनै पनि शोज उपलब्ध गराएको छैन । यस फिल्मलाई सेन्सर बोर्डले पिजी सर्टिफिकेट दिएको छ ।

यसै गरी अर्को फिल्म रहेको छ ‘दुई कदम’ । यस फिल्ममा मुख्य नायक र नायिका नै नयाँ छन् । जसमा इओन लिम्बु र सिमोन गिरीको लभ स्टोरीलाई मुख्य रुपमा देखाइएको छ । फिल्ममा इओन र सिमोनको साथमा सुनील थापा, गौरव पहारी लगायतका कलाकारको पनि मुख्य भूमिका छ ।​​​​

अजम्बरी फिल्मसको ब्यानरमा निर्माण भएको फिल्ममा तारादेवी लिम्बूको लगानी छ । फिल्ममा दयाराम घिमिरेको पटकथा, विक्रम डिसीको छायांकन, ताराप्रकाश लिम्बू र विकास चौधरीको संगीत, राजु किरातीको द्वन्द्व निर्देशन छ ।

यो फिल्म रेगुलर आइरहेका फिल्म जस्तै छ । यसमा प्रेम र रोधनका दृश्यहरू रहेका छन् ।

यस फिल्मलाई उपत्यकाका मल्टिप्लेक्सहरु न्यून मात्रामा  शोज दिएको देखिन्छ । उपत्यकाका बाहिर केही हलहरूले पनि यो फिल्मलाई कमै शो दिएका छन् ।