पूर्व मिस नेपाल श्रृंखला खतिवडाले कसिन लगनगाँठो

पूर्व मिस नेपाल श्रृंखला खतिवडाले लगनगाँठो कसेकी छन् ।

श्रृङ्खलाले आज बिहीबार सञ्चार उद्यमी प्रेमी सम्भव सिरोहियासँग लगनगाँठो कसेकी हुन् ।

 श्रृंखला र सम्भवको विवाह समारोह होटल हायातमा चलिरहेको छ । विवाह समारोहमा दुवै पक्षको परिवार, आफन्तजनदेखि पूर्वमिस नेपालहरु पनि सहभागी छन् । 

श्रृंखला र सम्भव करिब एक वर्षदेखि प्रेम सम्बन्धमा थिए । यी दुईले केही वर्षदेखिको प्रेम सम्बन्धलाई आज विवाहमा परिणत गरेका हुन् । श्रृङ्खलाले करिब दुई महिना अगाडि मात्रै संभवसँग आफ्नो अफेयरको बारेमा सार्वजनिक गरेकी थिइन् ।

उनले सामाजिक संजालमा केही रोमान्टिक तस्विर सार्वजनिक गर्दै ‘होपलेस–रोमान्टिक’ जोडी भन्दै संभवसँगको प्रेम सम्बन्धमा रहेको बताएकी थिइन् ।

विवाहको रिसेप्सन पनि पुस १ गते हायातमा नै राखिएको छ । श्रृंखला नेकपा एकीकृत समाजवादीका नेता विरोध खतिवडाकी छोरी हुन् । उनी सन् २०१८ मा मिस नेपाल भएकी थिइन् भने सोही वर्ष मिस वर्ल्डमा भाग लिएर ब्यूटी विथ पर्पस अवार्ड जितेकी थिइन् । सम्भव भने कान्तिपुर मिडिया ग्रुपका प्रबन्ध निर्देशक हुन् ।