'काँडेतार' जस्तो फिल्म अरूभए २० लाख दिने नवल खड्काको ठोकुवा

यो वर्षको महाशिवरात्रि अर्थात् फागुण २५ मा रिलिज हुने भनिएको ‘काँडेतार’को यतिबेला च्यारिटी शोलाई सफल बनाउन  निर्माण टिम लागिपरेको छ । चलचित्र निर्माता संघको अध्यक्ष समेत रहेका निर्देशक तथा कलाकार नवल खड्का फिल्म ‘काँडेतार’को देशभर विशेष च्यारिटी शो गराउँदै हिँडेका छन् ।

विशेष च्यारिटी शो गराउँदै यो फिल्मको युनिट पूर्वी इटहरीमा पनि पुगिसकेको छ । फिल्मका निर्देशक तथा कलाकार खड्का सहयोगी संघसंस्था, समाजसेवी, बुद्धिजीवी लगायतलाई भेट्न व्यस्त छन् । खड्काले देशभर करिब ६० भन्दा बढी विशेष च्यारिटी शो सम्पन्न गरिसकेका छन् । 

यता, इटहरीमा ‘काँडेतार’को यही मङ्सिर ३० गते प्रदर्शन हुँदै छ। च्यारिटी शो गराउन पुगेको टिमले मंगलबार इटहरीमा पत्रकार भेटघाट नै गरेको थियो । फिल्मका तर्फबाट गायिका तथा कार्यकारी निर्माता सत्यकला राई र निर्देशक तथा कलाकार नवल खड्का उपस्थिति थिए । 

नेपाल र भारत बिचको वर्षौँदेखि उठिरहेको सिमा विवादलाई मूल मुद्दा बनाएर निर्माण भएको फिल्म हेर्नको लागी श:शुल्क व्यवस्था रहेको छ । विशेष च्यारिटी शोबाट उठेको रकमलाई सिमा रक्षा गर्नलाई खटिएका पहरेदारहरूलाई हस्तान्तरण गर्ने पत्रकार भेटघाटमा निर्देशक खड्काले बताएका छन् ।

आफूले बनाएको यो फिल्म काँडेतार अहिलेसम्म कसैले बनाउन नसकेको फिल्म भएको निर्देशक तथा कलाकार खड्काले दाबी गरेका छन् । यदि कसैले बनाएको दाबी गर्न सक्छ भने आफूले सो फिल्मलाई २० लाख दिने ठोकुवा समेत गरेका छन् । 

यस्तै, फिल्मकी कार्यकारी निर्माता राईले आफूहरूले नाफा कमाउन फिल्म नबनाएको बताइन् । यदि त्यस्तो थियो भने आफ्नो घरबार बेच्दै बनाएको फिल्म डुब्दा पनि देशभक्त फिल्म बनाउन हार नखाएको उनको भनाई थियो ।

फिल्म काँडेतारमा निर्देशक नवलका अलावा गौरव पहाडी, सुरबिना कार्की, रेबिका गुरूङ्ग, प्रशान्त यादब, मुरलिधर, सञ्जय खतिवडा, रोमियन लिम्बू, केशव रायमाझी, राजेन्द्र भगत, पन्नालाल सिकदार, पर्शुराम चौधरी, महेश गिरी, पुष्प श्रेष्ठ, रितु चौधरी, रवि शाह, ज्ञानेन्द्र कोइराला, प्रेम कार्की लगायतका कलाकारहरूको अभिनय रहेको छ । शिवम अधिकारी र नवल खड्काको लेखन रहेको फिल्मको निर्मातामा भने माकिको राई र अन्जु केसी रहेकी छन् । 

स्मरण रहोस् यो फिल्म काँडेतारले २०७७ सालमा नेपाल चलचित्र विकास बोर्डले मौलिक फिल्म निर्माणमा प्रोत्साहन गर्न ‘स्टोरी बैंक’ स्थापना गरेको थियो । जस अन्तर्गत यो फिल्मले १० लाख पुरस्कार स्वरूप पाएको थियो ।