निर्मातालाई स्क्रिप्ट चित्त नबुझेपछि होटेलमै अड्किएको 'वरिष्ठ बलराम'
नयाँ कक्षा चढेपछि सो कक्षाको पहिलो दिन आफूलाई मनपर्ने ठाउँ रोजेर बस्न विद्यार्थीहरू नयाँ कक्षाको पहिलो दिन सबैभन्दा पहिले विद्यालय पुग्ने होडबाजी हुन्छ। यसमा पहिलो बेन्चमा बस्न चाहनेहरू सबैभन्दा पहिला स्कुल पुग्ने गर्छन्।
यस्तै शैली नेपाली फिल्मी क्षेत्रमा पनि बेलाबेलामा देखिने गरेको छ। फिल्डमा गएका फिल्महरूमा यो होडबाजी त ठिकै हो, तर जाने-जाने भनेर आफूले घोषणा गरेको मितिमा समेत सुटिङमा जान नसकेका फिल्मको के कुरा भयो र ?
हो यस्तै भएको छ, रोहित अधिकारीले निर्माण गर्ने भनिएको फिल्म 'वरिष्ठ बलराम'को हालसम्म कहिलेदेखि सुटिङमा जाने भनेर टुङ्गो लागेको छैन । तर निर्माण टिमले भने आफ्नो रिलिज मिति घोषणा गरेर ओगटेको संकेत दिएका छन्।
निर्माताको कुरा पत्याउने हो भने फिल्मले आगामी वर्षको हरितालिका तीजमा आफू रिलिज हुनेछ। निर्माता अधिकारीले आइतबार सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गर्दै तीजमा आफू आउने बताउँदै पोस्टर सेयर गरे। उनले यो गर्नुको अर्थ अरू फिल्मलाई मसँग नजुध्नु होला है भनेर गरेको इसारा हो।
स्रोतका अनुसार सुरुमा मङ्सिर १५ पछि २५ गतेदेखि छायांकनमा जाने बताइएको यो फिल्म हालसम्म फ्लोरमा जान नसक्नुको कारण निर्माता अधिकारी र यसको स्क्रिप्ट हो। फिल्मको मुख्य भूमिकामा समेत अभिनय गरिरहेका खगेन्द्र लामिछानेले लेखेको स्क्रिप्ट निर्माता अधिकारीले मन पराएका छैनन्।
अधिकारीले स्क्रिप्टमा व्यावसायिक तत्त्व खोजेपछि निर्देशक सुरेन्द्र पौडेल 'ओके' भएको भए पनि फिल्म फ्लोरमा जान नसकेको हो। ठमेलको एक होटलमा बसेर निर्देशक पौडेल र लेखक लामिछानेले स्क्रिप्टलाई अन्तिम रूप दिएका थिए। फिल्मको स्क्रिप्ट लेखनमा स्क्रिप्ट डाक्टर मनोज पण्डित पनि रहेको श्रोतले मेरो फिल्मलाई जानकारी दिएको छ । तर, मनोजले अप्रेशन गरेको स्क्रिप्टलाई पनि निर्माता अधिकारीले चित्त वुझाएनन् । जसकाकारण, फिल्मको छायांकन निर्धारित समयमा सुरु हुन सकिरहेको छैन ।
हाल निर्माता रोहित अधिकारीले अनमोल केसी तथा जसिता गुरुङको जोडी कसेर धमाधम 'फर्की फर्की'को फिल्मको सुटिङ गरिरहेका छन्।
यता, निर्माता अधिकारीले स्क्रिप्टमा चित्त नबुझाएपछि लेखक लामिछाने र निर्देशक पौडेल तनावमा रहेको बताइन्छ। उनीहरू हाल फिल्मलाई निर्माताले खोजे अनुरुपको स्क्रिप्ट बनाउन लागिपरेको बताइन्छ।
निर्माताले स्क्रिप्ट मननपराएपछि तनावमा पुगेका निर्देशक पौडेलले सामाजिक सञ्जाल फेसबुकमा घरी म्युजिक सिटिङ भन्दै संगीतकार तथा गायक सुजन चापागाईंसँगको फोटो पोस्ट गरिरहेका छन् त घरी अभिनेता माओत्से गुरुङसँगको फोटो राख्दै आफूहरू काममै रहेको सन्देश दिन खोजिरहेका छन् ।
समयमा फिल्ममा फ्लोरमा नजाँदा यस फिल्मका लागि समय छुट्याएका प्राविधिकहरूलाई भने ठूलो मार परेका छन्।
यही फिल्मका लागि समय छुट्याएका उनीहरू समयमा काम सुरु नभएपछि यो फिल्मको सेड्यूल सकेर अर्को फिल्ममा काम गर्ने तालिका प्रभावित भएको भनेर पीडामा त छँदैछन् त्योसँगै अर्को फिल्मका लागि लिएको पेस्कीसमेत फिर्ता गर्नुपर्ने अवस्थामा पुगेको जानकारी स्रोतले दिएको छ।
स्रोतका अनुसार स्क्रिप्टमा खोजेजस्तो परिवर्तन नभएसम्म निर्माता अधिकारी फ्लोरमा जाने पक्षमा छैनन्। यस्तोमा उनले रिलिज मिति घोषणा गर्नुको कारण मिडियामा हल्लाखल्ला भइराखोस् भनेर गरिरहेको बताइन्छ। खैर जे जस्तो भए पनि फिल्म छिट्टै फ्लोरमा जाओस् भन्ने हाम्रो कामना छ। आफूलाई स्थापित फिल्म लेखक भनेर दाबी गर्ने खगेन्द्रको स्क्रिप्ट निर्मातालाई चाँडो भन्दा चाँडो चित्त बुझोस्।
प्रतिक्रिया