आउँदो बर्षका चाडपर्व अहिलेबाटै बुक गर्दै निर्माता
केही निर्माताहरू फिल्मको प्रदर्शन मिति नै तय गरेर फिल्मको छायांकन सुरु गर्दा निर्माणमा दबाब पर्ने बताउँछन् । निर्माणमा दबाब पर्दा फिल्मको मेकिङ राम्रो नहुने तर्क गर्दै केही निर्माता पोष्ट प्रोडक्शनको काम सकेपछि मात्र प्रदर्शन मिति तय गर्न अगाडि सर्छन् ।
तर, अधिकांश फिल्मका निर्माता भने मुख्य चाडपर्व र बिदालाई चाँडो भन्दा चाँडो बुक गर्ने अनि मात्र फिल्म छायांकनमा लैजाने सोचका साथ अगाडि बढ्छन् । यसोगर्दा, कतिपयले निर्धारित मितिमै फिल्मको रिलिज गरेको पाइन्छ भने केही पछि हट्न वाध्य हुन्छन् ।
यो बर्ष सकिन अझै ४ महिना बढी छ । तर, आउँदो बर्षका मुख्य चाडपर्वहरू धमाधम बुक हुन थालेका छन् । बिदाको समयमा नेपाली फिल्मले राम्रो व्यापार गर्ने भएकाले पनि अधिकांश निर्माताले आउँदो बर्षको लागि मिति तय गरिसकेका छन् ।
नयाँ वर्षलाई मिति तय गरेर रामबाबु गुरुङले फिल्म ‘डिग्री माइला’को छायांकन सुरु गरेका हुन् । फिल्मको दोस्रो सेड्यूलको छायांकन हाल धमाधम भइरहेको छ । फिल्मलाई चैत्रको २९ गतेबाट रिलिज गरिनेछ । नयाँ बर्षको बिदामा फिल्मको व्यापार सुखद हुने भएकाले पनि रामबाबुले पहिले नै यो मिति फाइनल गरेका हुन् ।
अब, आउँदो बर्षको जेठ ११ गते फिल्म ‘फर्की फर्की’ रिलिज हुने पक्का भइसकेको छ । यो फिल्मको छायांकन पोखरामा धमाधम चलिरहेको छ । यसको एक सातापछि फिल्म ‘गाउँ आएको बाटो’ पनि रिलिज हुने पक्का भइसकेको छ ।
आउँदो बर्षको तीज, दशैँ र तिहार अहिले नै बुक भइसकेका छन् । आउँदो बर्षको तीजमा फिल्म ‘वरिष्ठ बलराम’ रिलिज गर्ने घोषणा निर्माता रोहित अधिकारीले गरिसकेका छन् । खगेन्द्र लामिछाने, दयाहाङ राई र दिव्या रायमाझी मुख्य भूमिकामा रहने यो फिल्मलाई सुरेन्द्र पौडेलले निर्देशन गर्दैछन् । फिल्मको छायांकन पनि सुरु भएको छैन ।
विपिन कार्की र वर्षा राउतको मुख्य भूमिका रहने फिल्म ‘तेल भिसा’को पनि छायांकन सुरु भएको छैन । तर, निर्देशक शंकर घिमिरेले फिल्मको प्रदर्शन मिति भदौको २८ गतेलाई तय गरिसकेका छन् ।
हाल प्रि प्रोडक्शनमा रहेको फिल्म ‘बलिदान’लाई आउँदो बर्षको दशैँको फूलपातीमा रिलिज गर्ने तयारी निर्माणपक्षको छ । यस्तै, कलाकार दीपकराज गिरीले पनि आउँदो बर्षको दशैँमा नै फिल्म रिलिज गर्ने तय गरिसकेका छन् । उनको फिल्मको अहिलेसम्म प्रि प्रोडक्शनको काम पनि राम्रोसँग तय गरिएको छैन ।
तिहारमा फिल्म ‘महाराजधिराज’लाई रिलिज गर्ने घोषणा यसका निर्देशक परिच्छेद सेनले गरिसकेका छन् । परिच्छेदको फिल्मका लागि अहिलेसम्म कलाकार पनि तय गरिएको छैन ।
यसरी हेर्दा, एकपछि अर्को फिल्म मुख्य चाडपर्वलाई बुक गर्दै प्रदर्शनको घोषणा गरिएको छ । विशेष गरि, ठूला ब्यानरले चाडपर्वलाई बुक गर्न तँछाडमछाड गर्ने गरेको पाइन्छ । आउँदो बर्षको तीज, दशैँ र तिहारमा नेपाली फिल्मको भिडन्त बढी देखिने संभावना छ ।
प्रतिक्रिया