दीपक मनाङेले किन भेटे अनमोल केसीलाई ?
नायक अनमोल केसी र नायिका जसिता गुरुङ अभिनीत फिल्म ‘फर्की फर्की’को पोखरामा धमाधम छायांकन भइरहेको छ ।
गण्डकी प्रदेशका सांसद तथा पूर्वमन्त्री राजीव गुरुङ (दीपक मनाङे)ले छायांकन भइरहेको स्थानमा गएर ‘फर्की फर्की’का नायक र फिल्मको अन्य युनिटसँग भेट वार्ता गरेका छन् ।
शनिबार छायाङ्कनकै क्रममा भएको उक्त भेटमा मुख्य त मनाङे र अनमोलबीच फिल्मकै विषयमा कुराकानी र रमाइलो गफगाफ भएको बुझिएको छ । दीपक र अनमोल एक अर्काको बारेमा पहिलेदेखि नै जानकार रहेपनि उनीहरुको भेट भने फिल्मकै सेटमा भएको थियो ।
मनाङे र अनमोलको यो भेटघाटको अवसर फिल्मका प्रोडक्शन हेड शंकर पाण्डेले मिलाएका हुन् । उनीहरूको भेटलाई पाण्डेले नै सामाजिक सञ्जाल फेसबुकमा तस्विर तथा भिडियो सेयर गरेर जानकारी गराएका छन् ।
उसो त, दीपक मनाङे पछिल्लो समय फिल्म निर्माणमा सक्रिय हुँदै आएका छन् । उनको प्रस्तुतिमा केही दिन अघि नयाँ फिल्म ‘कङ्गारु’ घोषणा भएको छ । दीपकको अनमोलसँगको भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ । हाललाई कुनै पनि सहकार्यको सम्भावना नरहेपनि निकट भविष्यमा सहकार्य हुन सक्ने बुझिएको छ ।
फिल्म ‘फर्की फर्की’को छायांकन दुई सातादेखि पोखरामा भइरहेको छ । यो फिल्मलाई पोखरामा २५ दिने खिच्ने सेड्यूल छ । फिल्मको पोखरा पछि मुस्ताङ, अन्नपूर्ण बेस क्याम्प, काठमाडौँ र इन्डोनेसियाको बालीमा छायांकन हुनेछ । यसमा अनमोल केसी र नायिका जसिता गुरुङले पहिलो पटक काम गरिरहेका छन् ।
सुयोग गुरुङले निर्देशन गरिरहेको फिल्म ‘फर्की फर्की’का निर्माता रोहित अधिकारी र ओम अग्रवाल रहेका छन् । फिल्ममा नरेन्द्र मैनालीको डीओपी, अष्ट महर्जनको एक्सन, सुयोग गुरुङको कथा तथा पटकथा, रोमन बज्राचार्य, नरेन लिम्बु र अनमोल गुरुङको संगीत, किरण थापाको कोरियोग्राफी, निमेष श्रेष्ठको सम्पादन रहनेछ ।
फिल्म आउँदो वर्षको जेठ ११ गतेबाट रिलिज हुने बताइएको छ ।
प्रतिक्रिया