‘इन्डियन आइडल १४’मा धमाका मच्चाइरहेकी मेनुका

नेपालकी चेली मेनुका पौडेलले भारतीय गायन रियालिटी शो ‘इण्डियन आइडल सिजन १४’ मा आफ्नो प्रस्तुति दिँदै आइरहेकी छिन् । वि.सं २०५५ सालमा झापाको हल्दीवारी– ४ मा जन्मेकी मेनुका दृष्टि विहीन छिन् । तर, दुवै आँखा नदेखे पनि उनको साङ्गीतिक करिअरलाई कुनै असर परेको छैन । उनको हिम्मत र साहस धेरैका लागि प्रेरणाको श्रोत बन्ने गरेको छ । 

मीठो सुरकी धनी मेनुका विश्वभर व्यापक प्रशंसा बटुल्दै ‘इण्डियन आइडल सिजन १४’ को अन्तिम १४ मा छनोट भएकी छन् । भारतीय टीभी च्यानल सोनी इन्टरटेन्मेन्टबाट प्रसारित इण्डियन आइडलमा प्रतियोगीको रुपमा रहेकी मेनुकाले अहिले तारिफ मात्र कमाएकी छैनन्, धेरैजसो समय निर्णायक तथा दर्शकलाई रुवाउँदै आएकी छिन् । हरेक श्रृङ्खलामा मेनुकाले नै उच्च स्कोरसहित स्ट्यान्डिङ अवेसन पाउँदै आएकी छन् । उनको प्रस्तुतिले शोमा सहभागी हुने विशेष अतिथीहरुको पनि मन जितिरहेको छ । मेनुकाले प्रस्तुति दिएपछि भारतीय युट्युबरदेखि सामाजिक संजालमा उनको गुणगान खुबै सुन्न सकिन्छ । 

मेनुकाले वि.सं २०७४ सालमा ‘नेपाल आइडल’मा समेत प्रतिस्पर्धा गरेकी थिइन् । उनी चार वर्षअघि अर्को रियालिटी शो ‘सारेगमप’ मा पनि भाग लिन गएकी थिइन् । त्यो बेला उनले प्रशस्त ख्याति कमाएकी थिइन् भने ’सारेगमप’ को टप ११ बाट बाहिरिएकी थिइन् । यता ‘इण्डियन आइडल सिजन १४’ मा अडिसन चरणबाटै मेनुकाले नेपाली र भारतीय मिडियाको राम्रो साथ पाइरहेकी छिन् । 

अडिसनमा उनले ‘तुम्हारे बिना हमारे कोनो नहीं’ बोलको गीत गाएकी थिइन् । मेनुकाको प्रस्तुतिले निर्णायकहरुको आँखा रसाएका थिए । उनीहरूले मेनुकाको प्रस्तुतिपछि उभिएर उनको सम्मान मात्र गरेनन्, गोल्डेन माइक समेत थमाइदिए ।  

त्यसबेला शोका निर्णायक विशाल ददलानीले त भगवानलाई अघि देखिरहेको भन्दै मेनुकाको गायकीको प्रशंसा समेत गरेका थिए । अर्की निर्णायक श्रेया घोषाल भावुक हुँदै आफूलाई सम्हाल्न सकेकी थिइनन् । अर्का निर्णायक कुमार सानुले भनेका थिए–‘तिमीले मेरो लागि धेरै काम गरिदियौं । आजको दिनदेखि मैले जुन संगीत बनाउँछु, त्यो भिन्न हुनेछ । यसको कारण तिमी हौँ ।’ 

अन्तिम १४ मा छनोट भएकी मेनुकाले आइतबार ‘चन्दनसा बदन’ गीत गाएकी थिइन् । अर्को गीत गाएपछि उनले निर्णायक तथा अतिथिलाई आफ्नै हातले बनाएको खीरसमेत खुवाइन् । गायिका साधना सरगमले दुई साता अघिको प्रस्तुतिमा मेनुकालाई अंगालो हालेर रोएकी थिइन् । बलिउड नायक रणवीर कपुरले त उनको खुट्टा छोएर आशीर्वाद मागेका थिए ।

उसो त मेनुकाले आफैं लड्दै संघर्ष गर्दै संगीत प्रशिक्षकहरूसँग संगीत सिकेकी थिइन् । उनले प्रशिक्षक कुशेश्वर राई, अनिल फागोबाट संगीतको प्रारम्भिक शिक्षा लिएकी हुन् । नेपालले चिन्न नसकेको मेनुकाको प्रतिभाले भारतमा व्यापक प्रशंसा बटुलिरहेको छ । मेनुकाले ‘इण्डियन आइडल १४’मा आफ्नो उपस्थिति आउँदो समयमा कस्तो बनाउनेछिन् त्यो हेर्न बाँकी नै छ ।

तर, मेनुकाले पाएको चर्चा र भारतीय मिडियामा उनलाई लिएर आउने गरेका समाचारहरूले सिंगो भारतलाई नै तरंगीत बनाइरहेको छ । मेनुकाको यो यात्रामा सिंगो नेपालले पनि साथ दिन आवश्यक छ ।