श्रृष्टी, महेश, करिश्मा र सागरको ‘११ः५५’ निर्माणको घोषणा
केशव पाण्डेको कथा तथा निर्देशनमा तयार हुन लागेको फिल्म ‘११ः५५’ निर्माणको घोषणा गरिएको छ । आज आयोजित पत्रकार सम्मेलनमा सस्पेन्स थ्रीलर जनरामा यो फिल्म बन्न लागेको जानकारी दिइयो ।
आफ्नै विशेषता बोकेका व्यक्तिले निम्त्याउने स–साना घटनाक्रमले सिर्जना गर्ने परिस्थितिलाई फिल्ममा देखाइने पत्रकार सम्मेलनमा जानकारी दियो । मान्छेको नदेखिने पाटो मार्फत गुण वा अवगुणले निम्त्याउने घटनाक्रम नै फिल्मको कथासार हो ।
यो फिल्ममा एम एस अग्रज, केशव पाण्डे र शेखर ज्ञवालीको लेखन, श्याम अर्याल र सरोजा शर्माको लगानी रहनेछ । विचित्र फिल्मसको ब्यानरमा निर्माण हुन लागेको फिल्मका सह–निर्माता जुनानाथ सापकोटा हुन् ।
एम एस अग्रज कार्यकारी निर्माता रहेको फिल्म निर्माणमा गुड जब फिल्मस्ले सहकार्य गरेको छ । यो फिल्ममा महेश त्रिपाठी, श्रृष्ठी श्रेष्ठ, सागर खनाल, करिश्मा श्रेष्ठ, विशाल पहारी, वुद्दि तामाङ, एम एस अग्रज लगायतका कलाकारको अभिनय रहनेछ ।
फिल्मको छायांकन शनिबारदेखि सुरु हुने जानकारी दिइयो । प्रद्युमन मिश्रको छायांकन, पासाङ दावा शेर्पाको सम्पादन, अल्मोडा राना उप्रेति र कुशल आचार्यको संगीत, कविराज गहतराजको नृत्य निर्देशन, देव महर्जनको एक्सन निर्देशन रहेको फिल्मका प्रोडक्शन म्यानेजर सुवास राज काफ्ले हुन् ।
कार्यक्रममा बोल्दै नायिका श्रृष्टीले भनिन्–‘मलाई सधैं नै सस्पेन्स थ्रीलर फिल्ममा काम गर्न मन लाग्छ । यसपटक यो फिल्मबाट चाहना पुरा भएको छ ।’
फिल्मका कार्यकारी निर्माता अग्रजले अष्ट्रेलीयाको एउटा बारमा बस्दा कथाको सुरुवात भएको भन्दै उत्कृष्ट फिल्म बन्न विश्वास व्यक्त गरे । फिल्मकी नायिका करिश्मा श्रेष्ठले यो फिल्ममा काम गर्दा आफू उत्साहित भएको बताइन् ।
प्रतिक्रिया