‘जम्प’को कथा सपनामा फुरेको थियोः आशुतोषध्वज कार्की(निर्देशक)
मङसिरको २९ गतेबाट रिलिज हुन लागेको फिल्म ‘जम्प’का निर्देशक हुन्, आशुतोष ध्वज कार्की । यो फिल्म रिलिजको व्यग्र प्रतीक्षामा छन् कार्की । अस्कर फिल्म कलेजको सन् २०१३ को ब्याचका विद्यार्थी हुन् कार्की । तर, उनले बीचमै आफ्नो पढाइ ड्रप गरेका थिए । तर, पनि उनको फिल्म मेकिङ सम्बन्धी रुचि भने परिवर्तन हुन सकेन । उनी विज्ञापन निर्देशनमा हानिए । उनले, दराज एघार–एघारदेखि एनसेलको विज्ञापन तयार पारेका छन् ।
यो फिल्मको उनले आक्रामक प्रचार गरिरहेका छैनन् । तर, डिजिटल प्लेटफर्ममा भने यो फिल्मको प्रचार राम्रैसँग भइरहेको उनको भनाई छ । यो फिल्मलाई झन्डै ४० लाखको लगानीमा निर्माण गरिएको कार्कीको भनाई छ । कार्कीले एउटा कथा अस्कर कलेजमा पढ्दा नै लेखेका थिए । तर, सो फिल्मको कथामा काम गर्न साढे २ करोडको बजेट आयो ।
यसपछि, भने यही फिल्मका लागि लगानी उठाउन उनले ‘जम्प’ निर्देशन गरेका हुन् । प्राइभेट शोहरुमा फिल्मले निकै राम्रो तारिफ बटुलेपछि उनको साढे २ करोडको बजेटमा बन्ने फिल्ममा लगानी गर्न केही व्यक्तिहरू उत्साहित देखिएका छन् ।
कार्कीको बुझाइमा नेपाली फिल्मको बजार जुवाको खाल भन्दा पनि खतरनाक छ । फिल्मको बारेमा उनले भने–‘जम्प एउटा मनोवैज्ञानिक थ्रीलर फिल्म हो । साइकियाट्रिक्सहरुले हेर्दा पनि फिल्मको कथामा कुनै छेडछाड नगरिएको पाउनुहुन्छ । यो एकदमै ओर्जिनल बिषय हो ।
यो फिल्मको कथा आफूले सपनामा फुराएको उनको भनाई छ । सपनामा फुरेको कुरा लेखेर राखेपछि त्यही आइडियालाई परिमार्जन गरेर फिल्मको रुपमा दिएको कार्कीले बताए । यसका लागि उनले मनोविज्ञान अध्ययन गरे र सोही अनुसार पात्र र अवस्थाहरू बनाउँदै सिने ढाँचामा ढालेका थिए ।
यो फिल्ममा पूर्ण रुपमा आत्मविश्वासी देखिएका कार्कीले ४० जना व्यक्तिहरूलाई देखाउँदा सबैले प्रशंसा गरेको तर्क गर्छन् ।
हलमा रिलिज भएपछि यो फिल्मलाई एक चर्चित ओटिटी प्लेटफर्ममा रिलिज गर्ने पक्का भइसकेको उनको भनाई छ । यो फिल्म हेर्दा दर्शकले सहजै बुझ्ने निर्देशक कार्कीको भनाई छ । फिल्ममा ट्विस्ट र थ्रीलर कथा हेर्न मन पराउने दर्शकका लागि ‘जम्प’ उत्कृष्ट हुने दाबी उनको छ ।
प्रतिक्रिया