बसन्तपुरको ईनारमाथि नाचेकोमा लज्जित छुः प्रकाश सपुत

गायक प्रकाश सपुतले माफी मागेका छन् । एक गीतको छायाङ्कनका क्रममा वसन्तपुरमा रहेको जीवित देवी कुमारीले पानी प्रयोग गर्ने इनारमाथि नाँचेकोमा आफू लज्जित भएको उनले उल्लेख गरेका छन् ।

सामाजिक संजालमा स्टाटस लेख्दै उनले भनेका छन्–‘चार महिना अगाडि हामीले वसन्तपुरमा एउटा म्युजिक  भिडियोको छायांकन गर्ने क्रममा इनारमाथि थुप्रै मानिसहरू बसेर फोटो भिडियो बनाउँदै रमाइरहनु भएको थियो । सर्ट राम्रो हुने देखेपछि निर्देशक ज्यूले फ्रेम लगाउनुभयो । भीडभाडले गर्दा मानिसहरूलाई आवतजावतमा पनि समस्या हुने र टिमलाई काम गर्न पनि गाह्रो हुने भएकाले म कुनामा लुकेर बसेको थिए । एक्सन भनेपछि फुत्त उक्लिए र नाचिहाले । भएको यत्ति हो । यसमा मेरो कुनै व्यक्तिगत स्वार्थ, नियत वा उद्देश्य जोडिएको थिएन । यद्यपि हामीले तत्काल महशुश गर्यौँ र त्यसरी टेकेर नाचेको पुरै दृश्य भिडियोमा राखेनौ । अरु मान्यताहरु जस्तै बसेको दृश्य भिडियोमा छ । यो भिडियोको सर्जक, गायक, निर्माता र निर्देशक अरु नै हुनुहुन्छ, म होइन । म कलाकारको रुपमा त्यहाँ थिएँ र मलाई त्यसरी इनारमाथि चढ्न हुँदैनथ्यो भन्ने हेक्का त्यति खेर भएन । मेरो अज्ञानताप्रति लज्जित छु । विशेष गरेर यसलाई आफ्नो आस्था र विश्वास मान्दै आउनु भएको नेवाः समुदायप्रति क्षमा चाहन्छु । अन्जानबस यो दृश्यले संसार भरी रहनुभएका प्रिय शुभेच्छुकहरुलाई निराश बनाएकोमा म दुःखी छु ।’

उनले गल्ती, कमजोरी सच्याएर, सिकाएर, सचेत गराए, एक अर्कालाई स्विकार गरेर नै देशलाई सभ्य, समृद्ध र सुन्दर बनाउन सकिने उल्लेख गरेका छन् ।