स्वरसम्राट नारायण गोपालको घरलाई संग्रहालयको रुपमा विकास गरिने

स्वरसम्राट नारायण गोपालको महाराजगन्जस्थित घर संगीतप्रेमी र स्रष्टाका लागि मन्दिरसरह मानिन्छ । स्वरसम्राटले व्यक्तिगत रूपमा प्रयोग गरेकादेखि साङ्गीतिक सामग्रीसम्मलाई समेट्दै सोही घरलाई सङ्ग्रहालय बनाइने भएको छ ।

मंगलबार स्वरसम्राट नारायण गोपालको ३३ औं स्मृति दिवस मनाइयो । उक्त अवसरमा नारायण गोपालको महाराजगञ्जस्थित घरलाई संग्रहालयको रुपमा विकास गर्ने जानकारी दिइयो ।

नारायण गोपाल सङ्गीत कोषअन्तर्गत रहेको घरलाई सङ्ग्रहालय बनाउन अहिले नारायण गोपालसँग सम्बन्धित सामग्रीको अभिलेखीकरण गर्ने काम भइरहेको छ ।

१९९६ साल असोज १८ गते काठमाडौंको किलागलमा जन्मिएका नारायण गोपालले स्वआर्जनले आर्जेको महाराजगन्जको यही घरमा आफ्नो अधिकांश सृजनशील जीवन बिताए । संगीतप्रेमीका लागि यो घर तीर्थस्थल जत्तिकै मानिन्छ । 

२०४७ मङ्सिर १९ गते उनको निधनपछि उनकी जीवनसँगिनी पेमलाले पनि आफ्नो जीवन साङ्गीतिक क्षेत्रको श्रीवृद्धिका लागि समर्पण गरिन् । नारायण गोपालको निधन भएकै वर्ष पेमलाले २२ आनामा रहेको यो घर नारायण गोपाल सङ्गीत कोष स्थापना गरी कोषलाई जिम्मा दिइन् । यहाँ लामो समयदेखि सङ्गीत प्रशिक्षण हुँदै आएको थियो । नारायण गोपाल गीत संगीतको पूर्णतामा आर्केष्ट्राको भूमिका महत्त्वपूर्ण मान्थे । त्यसैले यहाँ आर्केष्ट्रासमेत प्रशिक्षण गरिँदै आएको छ ।

गीत गंगा सङ्गीत प्रशिक्षण विद्यालय निर्माण गर्ने सपना पनि थियो नारायण गोपालको । सोहीअनुसार कोषको पहल र काठमाडौं महानगरपालिकाको आर्थिक सहयोगमा उनको घर छेवैमा नारायण गोपाल सङ्गीतमय गीतगंगा भवन पनि निर्माण गरिँदै छ। जसमा सङ्गीत प्रशिक्षणसहित विभिन्न कार्यक्रमहरू आयोजना गरिने योजना कोषको छ ।

नारायण गोपालको यो घरमा उनले प्रयोग गर्ने सामान, भाँडाकुँडा, लत्ताकपडा, सम्मान पत्र तथा तस्विरहरू छन्। उनकै पालाका सोफा, कुर्सी र टी टेबल पनि त्यहीँ सुरक्षित छन्। कोषले स्वरसम्राटसम्बन्धी थप सामग्रीको पनि खोजी गरिरहेको छ । यी सामग्रीले उनको सामान्य जीवनशैली र उच्च सृजनशील महत्त्वाकाङ्क्षालाई झल्काउँछ ।

नारायणगोपालका सपनामध्येको गीतगंगा भवन निर्माण भइरहेको छ।

संगीत महाविद्यालयका रूपमा स्नातकसम्मको अध्ययनअध्यापन हुने गरी यसको सञ्चालन गरिने कोषको योजना छ। रु सात करोड लागत अनुमानको सो चारतले (भुइँतलासहित) भवनका सबै तलामा ढलान भइसकेका छन्।