फिल्म क्षेत्रका १० नायिकाः को के गर्दैछन् ?
नेपाली फिल्म क्षेत्रमा नायिकाको अभाव छ भनिन्छ । फिल्म क्षेत्रमा नायिकाहरूको अनुहार धेरै छ । तर, केही नायिकाहरू मात्र फिल्ममा व्यस्त छन् । फिल्म क्षेत्रमा एक दशकमा नायिकाको स्टारडम बदलिएको पाइन्छ ।
कुनै समय रेखा थापाले एकलौटी क्रेज बनाएको यो क्षेत्रमा प्रियंका कार्की हुँदै स्वस्तिमा खड्कासम्म आइपुग्दा फिल्म भन्ने शैली परिवर्तन भएको छ । यसैले, नायिकाहरूको व्यस्तता पनि समय अनुसार बदलिएको छ ।
आज हामी यहाँ नेपाली फिल्म क्षेत्रका १० नायिकाहरू के गर्दैछन् भन्ने विषयमा चर्चा गर्दछौं ।
१. स्वस्तिमा खड्का नायिका स्वस्तिमा खड्का केही बर्षदेखि फिल्म क्षेत्रमा सर्वाधिक व्यस्त छिन् । ‘होस्टेल रिटन्र्स’बाट करिअर सुरुवात गरेकी स्वस्तिमाको यो बर्ष ‘ऐँचो पैँचो, पशुपति प्रसाद २ र दिमाग खराब’ रिलिज भए ।
यी तिनवटा फिल्म रिलिजका कारण स्वस्तिमा सर्वाधिक व्यस्त देखिइन् । ‘पशुपति प्रसाद २ र दिमाग खराब’ले व्यापारिक रुपमा सफलता पाएपछि स्वस्तिमाको क्रेज पनि बढेको छ ।
स्वस्तिमा अब करिब एक महिना फिल्म ‘दिमाग खराब’को प्रिमियरका लागि अष्ट्रेलीया जाँदैछिन् । डिसेम्बर ९ तारिखमा फिल्मको प्रिमियर अष्ट्रेलीयामा हुँदैछ । स्वस्तिमा अब एक महिना पूर्ण रुपमा अष्ट्रेलीयामा व्यस्त हुनेछिन् ।
२. मिरुना मगर: नेपाली फिल्म क्षेत्रमा सर्वाधिक व्यस्त नायिकामा अहिले मिरुना मगर पर्छिन् । मिरुना मगरको यो बर्ष ‘जारी र नांगो गाउँ’ रिलिज भइसकेका छन् । तर, मिरुना एकपछि अर्को फिल्ममा व्यस्त छिन् । मिरुना फिल्म ‘रंगेली’को छायांकन सकाएर लण्डन पुगिन् ।
यसपछि, उनले फिल्म ‘हात्तीछाप’मा केमियो भूमिकामा काम गरेकी छिन् । मिरुनाको अब नायक विपिन कार्कीसँग फिल्म ‘उनको स्विटर’को छायांकन सुरु हुँदैछ । उनको हातमा फिल्मको अभाव नै छैन ।
३. पूजा शर्मा: नेपाली फिल्म क्षेत्रकी अर्की व्यस्त नायिका हुन् पूजा शर्मा । गतबर्ष रिलिजमा आएका २ फिल्म असफल भएपछि पूजाले करिब एक बर्ष फिल्ममा काम गरिनन् । बरु, उनले ललितपुरको झम्सिखेलमा ‘ट्याग रेष्टुरेण्ट’ संचालन गरिरहेकी छिन् ।
पूजाले फिल्म ‘उपहार’को छायांकन सकेकी छिन् । फिल्म ‘दान्भी’को पहिलो सेड्यूल सकेर उनी दोस्रो सेड्यूलको तयारीमा छिन् । पूजाको व्यस्तता फिल्मको छायांकन र रेष्टुरेण्टमा नै व्यस्त छिन् । उनले यो बीचमा केही म्युजिक भिडियोमा पनि काम गरिरहेकी छिन् ।
४. आँचल शर्माः नायिका आँचल शर्माको व्यस्तता पनि फिल्म क्षेत्रमा गजब देखिएको छ । यो बर्ष उनको फिल्म ‘नाई नभन्नु ल ६’ रिलिज भयो । फिल्मले व्यापारिक रुपमा सफलता नपाएपनि उनले फिल्म साइन गरिरहेकी छिन् । आँचल यो बीचमा हनिमुन मनाउन फिलिपिन्स पनि पुगिन् ।
उनले फिल्म ‘डिग्री माइला’को पहिलो सेड्यूल सकेर परिवारलाई समय दिएकी हुन् । यही फिल्मको दोस्रो सेड्यूलको छायांकन सुरु भइसकेको छ । यसपछि, उनले फिल्म ‘राजामहल’को छायांकन सुरु गर्नेछिन् । आँचलको हातमा ‘पञ्चामृत’ पनि छ ।
५. केकी अधिकारीः नायिका केकी अधिकारीको हातमा पनि फिल्मको कमी छैन । उनले अभिनय गरेको फिल्म ‘परदेशी २’ले व्यापारिक रुपमा सफलता हात पारेपछि उनी खुशी छिन् । यो फिल्मको टिमले ५१ दिनको केक पनि काटिसकेको छ ।
केकीले यही फिल्मका कारण नयाँ फिल्म साइन गरेकी छैनन् । उनको यो बर्ष ‘प्रसाद २ र जय हो’ पनि रिलिज भयो । यी दुई फिल्म असफल भएपनि उनका लागि फिल्म ‘परदेशी २’ले खुशी दिएको छ । उनको फिल्म ‘बोक्सीको घर’ पनि रिलिजको तयारीमा छ ।
६. बेनिशा हमालः नायिका बेनिशा हमालको हातमा पनि फिल्मको अभाव नै छैन । केही बर्ष अगाडिसम्म बेनिशाको हातमा फिल्म खासै थिएन । तर, ‘छक्का पन्जा ४ र प्रेमगञ्ज’ रिलिज भएपछि बेनिशा व्यस्त हुन थालेकी हुन् ।
बेनिशाले हालै मात्र फिल्म ‘उपहार’को छायांकन सकेकी छिन् । यसपछि, उनले फिल्म ‘हात्तीछाप’का लागि समय दिइन् । बेनिशाको हातमा ‘बिजुली, भाँडा कुटी’ लगायतका फिल्म पनि छन् ।
७. जसिता गुरुङः नायिका जसिता गुरुङको यो बर्ष फिल्म ‘ज्याकीः आई एम ट्वान्टी वान’ रिलिज भयो । यो फिल्मले बक्स अफिसमा कमालको व्यापार गरेन । तर, उनलाई यसले खासै फरक परेको छैन । उनी हाल फिल्म ‘फर्की फर्की’को छायांकनमा व्यस्त छिन् ।
यो फिल्मको करिब २ महिना छायांकन हुनेछ । यस्तै, जसिताको माघ महिनामा नै फिल्म ‘हनी बनी’ रिलिज हुँदैछ । जसिता फिल्मको काम नभएको समयमा नेपाल भन्दा बढी बेलायतमा रहँदै आएकी छिन् ।
८. वर्षा राउतः नायिका वर्षा राउतको व्यस्तता पनि फिल्म क्षेत्रमा राम्रो छ । उनी हाल फिल्म ‘महाजात्रा’को छायांकनमा व्यस्त छिन् । यो फिल्मको छायांकन सकिएपछि वर्षाले चैत्र महिनामा फिल्म ‘तेल भिसा’को छायांकन सुरु गर्ने सेड्यूल छ ।
वर्षाले अर्को एक फिल्म साइन गरेपनि यसको बारेमा अन्य जानकारी दिइएको छैन । योसँगै वर्षाले केही ब्रान्डको प्रमोसन पनि गरिरहेकी छिन् । वर्षाको गतबर्ष रिलिज भएको फिल्म ‘के घर के डेरा’ चलेपछि उनलाई फाइदा भयो ।
९. मलिका महतः नायिका मलिका महतले आफ्नो करिअरमा अहिलेसम्म ४ वटा फिल्म मात्र गरेकी छिन् । जसमध्ये, उनको ‘यात्रा र पानी फोटो’ मात्र रिलिज भएका छन् । मलिकाको ‘सतीदेवी र अगस्त्य’ फिल्मको छायांकन सकाएकी छिन् ।
फिल्म ‘सतीदेवी’को भोलि बिहान ८ बजे धरानमा विशेष शो समेत हुँदैछ । यस्तै, उनले फिल्म ‘अगस्त्य’को काम पनि गरिरहेकी छिन् । यी दुवै फिल्मको व्यापारले उनको करिअरलाई ठूलो फाइदा हुनेछ । मलिका फिल्मसँगै म्युजिक भिडियो र केही ब्रान्डमा पनि व्यस्त छिन् ।
१०. १०. उपासना सिंह ठकुरीः नेपाली फिल्म क्षेत्रमा नाम चलेकी नायिका हुन् उपासना सिंह ठकुरी । फिल्म ‘क्याप्टेन’बाट करिअर सुरु गरेपछि उनले फर्किएर हेर्नु परेको छैन ।
उपासनाले फिल्म ‘हात्तीछाप’को छायांकन केही दिन अघि मात्र सकाएकी छिन् । यो फिल्मको रिलिज मिति माघ २६ गतेलाई तोकिएको छ । उपासनाले अन्य फिल्म साइन गरेकी छैनन् । उपासना कम फिल्म गर्ने नायिकाको रुपमा चिनिन्छिन् । उनले केही ब्रान्डमा पनि काम गरिरहेकी छिन् ।
प्रतिक्रिया