‘छक्का पन्जा’ क्याम्पबाट निस्केपछि जितुले फिल्म बनाउनै सकेनन्, ‘माग्ने’ बुढाको के होला ?
दीपकराज गिरी नेपाली फिल्म क्षेत्रको सर्वाधिक शक्तिशाली कलाकार तथा मेकर हुन् । उनले, निर्माण गरेका फिल्मको कलेक्शन हालसम्म १ अर्ब भन्दा माथि छ । यसैले, जो कोही पनि उनीसँग पर्दा शेयर गर्न चाहन्छन् ।
तर, दीपकराज गिरीको आफ्नै टिम छ । जसमा, उनीसँगै दीपाश्री निरौला र केदार घिमिरे छन् । उसो त, फिल्म ‘छक्का पन्जा ४’सम्म आइपुग्दा यो टिमका धेरै सदस्य बाहिरिसकेका छन् ।
यो टिमबाट सीताराम कट्टेल, जितु नेपालदेखि सुमन गिरी, निशान बजगाईँ लगायतका कलाकार तथा मेकर बाहिरिसकेका छन् । निर्मल शर्मा एक पटक बाहिरिएर फेरि भित्रिएका छन् ।
यो टिमबाट बाहिरिएपछि कलाकार सीताराम कट्टेल सामाजिक सेवामा बढी सक्रिय भए । तर, उनको सामाजिक सेवामा क्रिकेट रंगशालामा पुगेपछि भने रोकिएको छ । उनले बनाएको फिल्म ‘सेन्टी भाइरस’ पनि अपेक्षित चलेन । समग्रमा भन्नुपर्दा उनको फिल्मी करिअर सुखद हुन सकिरहेको छैन ।
यो टिमबाट निस्किएपछि कलाकार जितु नेपालले फिल्म बनाउने चर्चा चलेको थियो । सुमन गिरीले लगानी गर्ने गरि दिनेश डीसीलाई निर्देशनको जिम्मा दिएर जितु फिल्म बनाउन कस्सिएका थिए । तर, उनको फिल्मी यात्रा पनि बलियो बन्न सकेको छैन ।
जितुले संचालन गरिरहेको ‘मुन्द्रेको कमेडी क्लब’ पनि गतिलोसँग चलिरहेको छैन । यो शो जसोतसो रुपमा चलिरहेको छ भन्दा फरक पर्दैन ।
अब, कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ले पनि यो क्याम्प भन्दा बाहिरको फिल्म गर्दैछन् । उनले, सम्राट बस्नेतको निर्देशनमा बन्न लागेको ‘कङ्गारु’ नामक फिल्ममा काम गर्दैछन् । यो फिल्मको व्यापारिक आँकडामाथि धेरैको ध्यान जाने निश्चित छ ।
उसो त, दीपकराजले आफ्नै क्याम्प भित्र बनाउँदै आएका फिल्ममा पनि केदार घिमिरे नहुने हो भने बम्पर व्यापार गर्दैन भनेर टिप्पणी हुँदै आएका छन् । अब, यसपटक दीपक र केदारले अलग–अलग फिल्ममा काम गर्दैछन् । यसैले, यी दुई फिल्मको व्यापारले कसको कारणले को चल्यो भन्ने पुष्टि गर्नेछ ।
‘छक्का पन्जा ३’ले बक्स अफिसमा १८ करोड ग्रस गर्दै सर्वाधिक व्यापारको रेकर्ड राखेको थियो । तर, यसलाई फिल्म ‘कबड्डी ४’ले तोडिदियो । यसर्थ, अब दीपक यो रेकर्डलाई फेरि तोड्ने धुनमा लागिरहेका छन् । तर, यसअघि केदार र उनले अलग–अलग फिल्ममा काम गर्ने पक्का गरेका छन् ।
प्रतिक्रिया