एकसाथ आर्यन र प्रदीपः चकलेटी हिरोहरुले दिएको सन्देश

नेपाली फिल्म क्षेत्रमा चकलेटी नायकहरूले एकसाथ काम गर्दैनन् । चकलेटी नायकहरू एक आपसमा झगडा गरेका कारण हिरोको अभाव भएको नायिका रेखा थापाले केही हप्ता अगाडि आयोजित कार्यक्रममा बताएकी थिइन् । 

विशेषगरि, नायकहरू अनमोल केसी, प्रदीप खड्का, पल शाह, धिरज मगरहरूले एकसाथ फिल्ममा काम नगरेका कारण यस्तो प्रश्न उठ्न थालेको हो । 
तर, नेपाली फिल्म क्षेत्रका दुई चकलेटी नायकहरू एकसाथ आउने पक्का भएको छ । 

दिनेश राउतको निर्देशनमा तयार हुन लागेको फिल्म ‘पुजार सार्की’मा नायकद्धय आर्यन सिग्देल र प्रदीप खड्का एकसाथ पर्दामा देखिन लागेका हुन् । 

यो फिल्ममा उनीहरूको भूमिका कस्तो हुन्छ भनेर निर्माणपक्षले केही पनि खुलाएको छैन । तर, आर्यन र प्रदीपले एकसाथ फिल्ममा काम गरेर फिल्म क्षेत्रमा नयाँ सन्देश भने दिन खोजेका छन् । नाम चलेका कलाकारहरूले एकसाथ काम गर्दा दर्शकले हेर्ने दृष्टिकोण पनि फरक हुन्छ । 

दिनेश राउतको निर्देशनमा तयार हुने फिल्ममा विकास सुवेदीको कथा, सुभाष भुसालको लगानी रहनेछ । फिल्मले जातीय विभेद विरुद्धको कथालाई उठान गर्नेछ ।