राजेश र निखिल मौन, अघि बढ्दैछन् विराज
नेपाली फिल्मले कथा भन्ने शैली परिवर्तन गरिसकेको छ । अहिलेको युगमा दयाहाङ राई, सौगात मल्ल जस्ता नायकहरू चम्किरहेका छन् । तर, यो समयमा भने नेपाली फिल्म क्षेत्रका तीन स्टार नायकहरूको याद भने दर्शकलाई आइरहेको छ ।
कुनै समय टाउको राखेर मात्र राजेश हमाल, निखिल उप्रेती र विराज भट्टको फिल्म चल्थ्यो । यी तीन नायकलाई राखेपछि निर्देशकले फिल्मको कथा भन्दा बढी स्टारडममा ध्यान दिन्थे । तर, अहिले यी तीन नायकले फिल्म खेल्दा चल्छ या चल्दैन भन्ने सकिने अवस्था छैन ।
यसमध्ये, नायक राजेश हमालले फिल्ममा काम गर्ने मन त्यति बनाएको देखिँदैन । उनी, अहिले आफ्नो भूमिकाको प्रभावकारिता खोजिरहेका छन् ।
उसो त, राजेश हमालले फिल्म निर्देशन गर्ने चर्चा चलेको पनि बर्षौ भइसकेको छ । हमालले फिल्म निर्देशन गर्ने तयारी पनि गरेका छैनन् । अब, उनी अभिनयमा पनि आफ्नो भूमिका बलियो खोजिरहेका छन् । यसैले, दर्शकले तत्काल हमाललाई निर्देशक वा कलाकारको रुपमा हलमा देख्न पाउने छैनन् ।
अर्का सुपरस्टार नायक निखिल उप्रेतीले ‘भैरव’ फिल्म निर्देशन गरेपछि नयाँ फिल्म बनाउन सकिरहेका छैनन् । उनले, बीचमा एउटा फिल्मको छायांकन सुरु गरे पनि त्यो बीचमै रोकियो ।
निखिलले पनि दोस्रो फिल्म निर्देशन गर्ने चर्चा लामो समयदेखि चलिरहेको छ । तर, उनी न त फिल्म निर्देशन गर्न सकिरहेका छन् न त अभिनय नै ।
यता, नायक विराज भट्ट भने ‘साङ्लो’ फिल्मको असफलतापछि केही समय सुस्ताए ।
कस्तो फिल्म दर्शकका लागि बनाउने भन्ने विषयमा नै उनी लामो समय घोत्लिए । यसपछि, उनले बिहिबार मात्र नयाँ फिल्म ‘१२ गाउँ’ निर्देशनको घोषणा गरेका छन् ।
राजेश र निखिल सुस्ताउँदा विराज भने अघि बढिरहेका छन् । र, फिल्म क्षेत्रमा दर्शकको चासो हेर्दा पनि विराजको खोजी नै बढी भएको पाइन्छ ।
बलिउडमा ४० बर्ष काटेपछि धेरै नायकहरूको स्टारडम झनै मजबुत बनिरहेको छ । तर, नेपालमा नायकहरू ४० काटेपछि सुस्ताएको देखिन्छ ।
प्रतिक्रिया