‘हात्तीछाप’मा मिरुना मगरको इन्ट्री, के फिल्म चलाउनलाई नै हो त ?

माघको २६ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘हात्तीछाप’को टिजर केही दिनमै रिलिज हुँदैछ । निर्माणपक्षले एकातिर फिल्मको टिजरको तयारी गरिरहेको छ भने अर्कातिर बाँकी रहेको केही दृश्य र गीतको छायांकन पनि सुरु गरेको छ । 

बुधबारदेखि सुरु भएको छायांकनमा नायक दयाहाङ राईले नृत्य गरिरहेका छन् । तर, विशेष स्रोतले मेरो फिल्मलाई दिएको जानकारी अनुसार फिल्ममा नायिका मिरुना मगरको समेत इन्ट्री भएको छ । 

हाल काठमाडौंको एक स्टुडियोमा मिरुना र दयाहाङलाई राखेर एउटा गीतको छायांकन भइरहेको छ । निर्माणपक्षले यो गीतलाई प्रमोसनका लागि मात्र प्रयोग गर्न लागेको वुझिएको छ । तर, यो विषयमा फिल्मको टिमले केही पनि बोलेको छैन । 

किरण नेपालीको निर्माणमा सिमोस सुनुवारले निर्देशन गरेको फिल्ममा दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, बेनिशा हमाल लगायतका कलाकारको मुख्य भूमिका छ ।
 
फिल्मको टिजर नै तयार भइसकेको अवस्थामा निर्माणपक्षले मिरुनालाई इन्ट्री गराउँदै किन गीत छायांकन गर्यो भन्ने प्रश्न उब्जिएको छ । दर्शकहरुको नजरमा गत बर्षदेखि दया र मिरुनाको जोडी परेको छ । उनीहरूले काम गरेका सबै फिल्म सफल पनि छन् । यसैले, फिल्मको हाइप अझै बढाउनका लागि मिरुनालाई फिल्ममा इन्ट्री गराइएको अनुमान लगाउन सकिन्छ । 

मिरुनाले फिल्मको गीतमा मात्र नृत्य गर्न लागेको वुझिएको छ । फिल्ममा दयाको जोडीको रुपमा भने उपासना सिंह ठकुरीले काम गरेकी छिन् ।