अदितीको गुनासो–‘मेरो चरित्र हत्या गर्ने प्रयास भैरहेको छ’

नायिका अदिति वुढाथोकीले आफ्नो चरित्र हत्या गर्ने काम भइरहेको भन्दै आपत्ति जनाएकी छिन् । सामाजिक संजाल इन्स्टाग्रामबाट उनले फ्यानहरुलाई यसको जानकारी दिएकी छिन् र आफ्नो आधिकारिक पेजलाई मात्र आधार मान्न आग्रह गरेकी छिन् ।

उनले लेखेकी छिन्–‘अरु मानिसहरूलाई खसाल्न केही मान्छेहरूले गरेको प्रयास देख्दा मलाई निकै दुख लागेको छ । लामो समयदेखि मैले यस्तो हर्कत र प्रयासको सामना गरिरहेको छु । मैले यसलाई रोक्ने प्रयास पनि गरिरहेकी छु । नक्कली स्न्यापच्याट आइडीबाट यस्तो काम भइरहेको छ । साथै, एआई र अरू गलत भिडियोको माध्यमबाट मेरो चरित्र हत्या गर्ने काम भइरहेको छ ।’

अदितिले आफूलाई यस्तो गलत कार्यको विरुद्धमा साथ दिन आफ्नो २० लाख भन्दा बढी इन्स्टाग्रामका फलोअर्ससँग आग्रह पनि गरेकी छिन् । 

अदितिले एआईको दुरुपयोग गरेर नक्कली भिडियो तयार पारिएको र त्यसलाई स्न्यापच्याटबाट शेयर गरेर आफूलाई दुःख दिने काम भइरहेको उल्लेख गरेकी हुन् । 

एआई प्रविधिको विकाससँगै यसले सेलिब्रिटीहरुलाई पनि तनावमा पारिदिएको छ । बलिउडका नायिकाहरू रश्मिका मन्दना, आलिया भट्ट लगायतका फेक भिडियोहरू सामाजिक संजालमा भाइरल भइरहेका छन् ।