चौथो हप्तामा ‘दिमाग खराब’ले ५० प्रतिशत शेयरको फाइदा उठाउने संभावना कम

शुक्रबारदेखि नेपाली फिल्म ‘दिमाग खराब’ चौथो हप्तामा प्रवेश गर्दैछ । दोस्रो हप्तासम्म आक्रामक व्यापार गरिरहेको यो फिल्मले तेस्रो हप्ताको शनिबार पनि सुखद कमाई गर्यो । 

नेपाली फिल्मका निर्माताले अब फिल्म हलमा चलेको अवधिसम्म नै ५० प्रतिशत शेयर पाउने सहमति भएसँगै तेस्रो सातामा यो फिल्मले यसको फाइदा उठायो । 

तर, चौथो हप्तामा भने यो फिल्मले ५० प्रतिशत शेयरको फाइदा उठाउने संभावना कम देखिएको छ । 

शुक्रबारदेखि बलिउडको प्रतीक्षित फिल्म ‘एनीमल’ हलमा लाग्दैछ । यो फिल्मलाई देशका मुख्य मल्टिप्लेक्सहरुले आक्रामक शोज दिएका छन् ।

फिल्मको अग्रिम बूकिङ पनि आक्रामक छ । फिल्मले नेपालमा शुक्रबार मात्र १ करोड भन्दा माथिको ओपनिङ गर्ने संकेत देखिएको छ । 

चौथो हप्तामा यो फिल्मले क्यूएफएक्स चेनका उपत्यकाका हलमा ९ शोज पाएको छ । जबकी, फिल्मले अहिले क्यूएफएक्सका उपत्यकाका हलमा १८ शोज पाएको छ । वान सिनेमाज्मा त यो फिल्मले शुक्रबारदेखि जम्मा १ शोज मात्र पाएको छ । जबकी, तेस्रो सातामा यो फिल्मलाई वान सिनेमाज् नयाँ बाँनेश्वरमा ७ शोज मिलिरहेको छ । 

यस्तै, एफक्यूब सिनेमामा यो फिल्मले अहिले ५ शो पाइरहेको छ । तर, शुक्रबारदेखि यो हलमा पनि फिल्मले १ शो मात्र पाएको छ । 

बीग मुभिजमा तेस्रो सातामा ५ शोज पाइरहेको यो फिल्मले चौथो हप्तामा १ शोज पनि नपाउने देखिएको छ । जबकी, फिल्मको आजको अकुपेन्सी पनि बीग मुभिजमा उच्च छ । 

यसरी हेर्दा, यो फिल्मले चौथो हप्तामा हलमा ५० प्रतिशतको शेयरको फाइदा उठाउने संभावना देखिएको छैन । 

प्रदर्शकहरुले ५० प्रतिशत शेयरमा सहमति गरेपछि नेपाली फिल्मलाई लामो समयसम्म हलमा शो दिन आनाकानी गर्छन् कि भन्ने शंका केही फिल्मीकर्मीले गरेका थिए । ‘दिमाग खराब’को चौथो हप्ताको शोज बाँडफाँड हेर्दा त्यस्तै देखिएको छ ।