फिल्म पुरा गर्न नै सकस

निर्देशक घनश्याम लामिछानेको निर्देशनमा फिल्म ‘लण्डन टू पेरिस’को निर्माण भयो । यो फिल्मको पेरिसको दृश्यको छायांकन अझै बाँकी छ ।

यसपछि, घनश्यामले फिल्म ‘चित्रा’को छायांकन सकाइसकेका छन् । तर, लण्डनमा छायांकन सकिएको ‘लण्डन टू पेरिस’को बाँकी छायांकन नै हुन सकेको छैन । जसका कारण, यो फिल्म पुरा भएर रिलिज हुन्छ या हुँदैन पक्का छैन । 

निर्माताले फिल्मको घोषणा जसरी हल्लाखल्ला गरेर गर्छन्, त्यसको काम सकेर रिलिज गर्न सहजै सक्दैनन् । 

फिल्म ‘ह्रस्व दीर्घ’ पनि अहिले यस्तै अवस्थामा छ । चन्द्र पन्तको निर्देशनमा नीता ढुंगाना र हरिहर अधिकारीले यो फिल्मको निर्माण गरिरहेका हुन् ।

तर, फिल्मको पहिलो सेड्यूलको छायांकन सकेपछि निर्माताले बाँकी काम पुरा गर्न सकेका छैनन् । फिल्मलाई नेपालीसहित भारतका विभिन्न ५ भाषामा निर्माण गर्ने तयारी नीता र हरिहरको थियो । तर, अब यो फिल्म बनेर दर्शक समक्ष आउँछ या आउँदैन पक्का छैन । 

फिल्म ‘बर एण्ड बधू’ पनि यस्तै भयो । मिलन चाम्सको निर्देशनमा आँचल शर्मा र विवेक कर्माचार्य मुख्य कलाकारको रुपमा रहेको फिल्मको छायांकन रोमानियामा धमाधम भयो ।

तर, रोमानियाबाट फर्किएपछि यो फिल्मको काम रोकियो । मिलनले यसपछि ‘गोर्खा वारियर’को छायांकन सकाइसकेका छन् । उनी हाल फिल्म ‘एन्जिला’को छायांकनमा व्यस्त छन् । तर, यो फिल्म अब पुरा भएर दर्शक समक्ष आउने संभावना कम छ । 

फिल्मको छायांकनको सुरुवात जसरी तामझामसँग गरिन्छ, त्यो अनुसार हलसम्म आइपुग्दाको माहोल हुँदैन । अझ, भनौँ माहोल पुरै बदलिन्छ । कतिपय निर्माता आर्थिक संकटका कारण फिल्म पुरा गर्न सक्दैनन् त कतिपय सम्बन्धमा खटपट आएपछि काम अधुरै छाड्छन् । 

नेपाली फिल्ममा यस्ता कैयौं उदाहरण छन्, जसको घोषणा जसरी हुन्छ त्यो अनुसार काम गर्दै जाँदा माहोल बाँकी रहँदैन । केही फिल्म केही दृश्यको छायांकन भएपछि रोकिएका छन् भने कैयौं फिल्म त छायांकनमा नजाँदै नबन्ने अवस्थामा पुगेका छन् । 

नायक प्रदीप खड्काले फिल्म ‘कामिनो’का लागि मिहिनेत गरे । फिलिपिन्स पुगेर एक महिना बसे । फिल्मको टिजर पनि खिचियो । तर, अन्तिममा अब फिल्म नै बन्ने अवस्था छैन । 

घोषणा भएर नबनेका फिल्म हुन् या केही दृश्य छायांकन भएर नबनेका फिल्म नै किन नहुन, नेपाली फिल्म क्षेत्रमा सूची लामो छ । पूर्व तयारी गतिलो सँग नगर्दा यस्तो अवस्था आएको छ ।

कतिपय अवस्थामा भने, निर्माता भाग्लान् कि भनेर निर्देशकले हतार हतारमा फिल्मको घोषणा त गर्छन्, तर फिल्मको छायांकन नै सुरु गर्न सक्दैनन् ।