'आदिपुरुष'को शोध भर्नामा 'एनिमल' ल्याइयो, नेपाल वितरकलाई 'ज्याकपट'

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले भारतीय फिल्म 'आदिपुरुष'ले नेपालकी राष्ट्रिय विभूतिलाई भारतीयका रुपमा प्रस्तुत गरेको भन्दै रोक लगाएपछि सो फिल्म प्रदर्शनको बीचबाट नै हलबाट उत्रियो ।

नेपालका वितरकले सो फिल्मको नेपाल प्रदर्शन अधिकार करिब नेपाली दुई करोड नेपाली रूपैयाँमा खरिद गरिएको थियो। पछि अदालतले प्रदर्शनको अनुमति दिए पनि यसका वितरकले सिनेमालाई प्रदर्शन गरेनन्।

प्रदर्शन स्थगीत गरेका वितरकले सिनेमाबाट घाटा भएको बताउँदै आएका थिए ।

त्यसमा भएको घाटाका लागि रणविर कपुरको बहुप्रतिक्षित 'एनिमल' नेपाल वितरकले सस्तो मूल्यमा पाएका छन्। यसअघि यो स्तरको सिनेमा करोड भारुमा किनिने भएपनि 'आदिपुरुष'का निर्माताले नै बनाएको यस फिल्मलाई केही लाखमा खरिद गरिएको छ।

'आदिपुरुष' र 'एनिमल' दुवै फिल्मका निर्माता चर्चित भारतीय म्युजिक कम्पनी टिसिरिजका मालिक भूषण कुमार र कृष्ण कुमार हुन् ।

नेपालको प्रदर्शन अधिकार वितरक मनोज राठीको वेङ्कटेश फिल्मस्ले किनेको हो।

पछिल्लो समयमा भारतमा फिल्म नचलेर वितरक घाटामा गएमा निर्माताले थुप्रै अवसरमा पैसा फिर्ता गर्ने तथा अर्को फिल्मको व्यापारमा सट्टाभर्ना गर्ने अभ्यास गरेका छन् ।

नेपाली वितरकलाई पनि सोही अभ्यासको फाइदा भएको हो। 'एनिमल'लाई लिएर नेपालीका सिनेमा प्रेमीमा ठूलो 'क्रेज' रहेको छ। 

हलहरुले सिनेमाका लागि दर्शकहरुबाट निकै ठूलो मात्रामा सोधखोज भइरहेको छ। सम्भवतः: नेपाली हलले यसै साताको मध्यबाट यो सिनेमाको बूकिङ खोल्नेछन् ।

'एनिमल' सस्तै, त्यो पनि नसोचेको मूल्यमा नेपाल ल्याइएकाले नेपाल वितरकलाई राम्रो राहत मिल्नेमात्र होइन मुनाफा पनि आर्जन हुने चर्चा फिल्मी बजारमा यतिबेला छ।

'एनिमल' सुपरहिट फिल्म 'कबिर सिंह' निर्देशक सन्दीप रेड्डी भाँङ्गाको सिनेमा भएकाले पनि वक्सअफिसमा यसले आँधी ल्याउने व्यापारिक विश्लेषण हुँदै आएको छ। भारतीय संचारमाध्यमहरुका अनुसार यो फिल्मले भारतमा मात्रै ५० करोड भारुको ओपनिङ गर्ने बताइरहेका छन् ।

करिब ५ भाषामा रिलिज हुने फिल्मले 'जवान'को ओपनिङ रेकर्ड तोड्ने अनुमान छ।

'एनिमल'को फिल्मी बजार गरम रहेकाले नेपाली वितरकले ओपनिङमा गतिलो सुरुवात गर्ने अनुमान छ। सस्तोमा नेपाल ल्याएकाले पूर्वानुमान अनुसार व्यापार गरेमा वितरकका लागि 'ज्याकपट' हुनेछ ।

यही मितिमा विक्की कौसल अभिनीत 'सामबहादुर' पनि रिलिज हुँदैछ तर धेरैको आँखा रणविरको 'एनिमल'मा रहेको छ।