अरिजित सिंहको कन्सर्टमा झुमे नेपाली, अटोग्राफमै व्यस्त भए गायक

बलिउडका सर्वाधिक चर्चित र सफल गायक अरिजित सिंहको कन्सर्टमा नेपाली दर्शक रमाएका छन् । शनिबार बेलुकी काठमाडौंको हायात होटलमा आयोजित कन्सर्टमा अरिजित सिंहले आफ्ना लोकप्रिय गीतहरु गाएका थिए । 
अरिजित करिब ४ घन्टा दर्शकसँगै रमाए । आयोजकले दर्शकलाई ३ तहमा राखेर टिकट बाँडेको थियो ।

६ हजार ५ सयदेखि१९ हजारसम्मका टिकट थिए । करिब २० हजार दर्शकले अरिजितको यो कन्सर्ट प्रत्यक्ष हेरेका थिए । 

तर, हायात होटलको खुल्ला चौरमा कार्यक्रम भएकाले पनि वरिपरीका घरका छतबाट, रुख चढेर कन्सर्ट हेर्नेको पनि भीड बाक्लो थियो । यतिमात्र होइन, अरिजितको कन्सर्ट हेर्नका लागि हायात होटल अगाडिको सडकमा पनि बाक्लो भीड लागेको थियो । 

कार्यक्रममा अरिजितले विशेषगरि भीआइपी भन्दा पनि सामान्य टिकट काटेर आएका दर्शकहरुलाई बढी समय दिए । उनले, ती दर्शकहरुलाई अटोग्राफ दिए । 

कार्यक्रम अवधीभर नै अरिजितले अटोग्राफ दिने कार्यलाई छाडेनन् । एक जना नेपाली फ्यानले नेपालको राष्ट्रिय झण्डा अरिजितलाई  दिएका थिए । अरिजितले नेपाली राष्ट्रिय झण्डा काँधमा राखेरै केही समय गीत गाएका थिए । पछि, उनले त्यो झण्डा फ्यानलाई नै फिर्ता गरिदिए । 

अरिजितले दर्शकको आग्रह अनुसार नै गीत गाएका थिए । पहिलो पटक नेपालमा प्रस्तुति दिन आएका अरिजितले सुरुवातमा ‘आशिकी’ फिल्मको ‘तुम हि हो’ गीत गाएका थिए । यसपछि, उनले ‘केसरिया तेरा मेरा, जो तुम ना हो, बेखयाली, प्यार झुठा थो ता, केहेत हे खुदा ने इस, अगर तुम साथ हो, ए दिल हे मुस्किल, तेरा प्यार मे, चलेया’ लगायतका गीत गाएका थिए । 

अरिजितले कार्यक्रमको बिचमा नेपाली गीत समेत गाएका थिए । उनले–‘आउ न आउ यो मनलाई’ बोलको नेपाली गीत गाएका थिए । करिब ४ घन्टा गीत गाएपछि अरिजितले भने–‘अब घर जाने समय भयो ।’ यसपछि अरिजितले ‘अच्छा चलता हुँ दुवाओमे याद रखना’ बोलको गीत गाएका थिए । अरिजितले कार्यक्रम अवधीभर अटोग्राफमा बढी समय दिनु परेको थियो ।

उनले, आफूले अटोग्राफमा भन्दा बढी समय गीत गाउनमा दिन पाएको भए भन्दै बिदा भएका थिए । गराज इन्टरटेन्मेन्ट र एमएन प्रोडक्शनले यो कार्यक्रमको आयोजना गरेको हो ।