‘प्रकाश’ पछि दिनेशको नयाँ फिल्म ‘पूजार सार्की’

निर्देशक दिनेश राउतले नयाँ फिल्म ‘पूजार सार्की’ निर्माणको घोषणा गरेका छन् । यो फिल्मले जातीय विभेद विरुद्धको कथा भन्ने राउतले मेरो फिल्मलाई जानकारी दिएका छन् । उनका अनुसार, फिल्मको छायांकन माघबाट पोखरामा सुरु हुनेछ । 

यो फिल्मलाई विकास सुवेदीले लेखेका हुन् । यसअघि विकासले दिनेशकै निर्देशनमा बनेको फिल्म ‘प्रकाश’ पनि लेखेका थिए । दिनेशले यो फिल्म बायोपिक भने नभएको बताए । तर, कसैको वास्तविक जीवनसँग फिल्म मेल खाने उनको भनाई छ । 

फिल्मको बारेमा लेखक सुवेदी भन्छन्–‘यो फिल्मको कथा पनि मैले देखेको कथामा नै तयार पारेको हुँ । समाज बदल्नका लागि हिँडेको एउटा कम्युनिष्ट युवाले जातीय समानताको लागि थर बदलेको कथा यसमा प्रस्तुत हुनेछ ।’

यो फिल्मलाई सुभाष भुषालले निर्माण गर्ने पक्का भएको छ । फिल्मका कलाकारको जानकारी केही दिनमा नै दिने दिनेशको भनाई छ ।