प्रदर्शकले दिल ठूलो बनाए, अब निर्माताले गतिलो फिल्म बनाउनुहोस्

प्रदर्शकहरुलाई नेपाली फिल्मका निर्मातालाई ५० प्रतिशत शेयर दिनका लागि निकै नै गाह्रो भयो । लामो समयदेखि चल्दै आएको यो विषयले अन्ततः बिहिबार किनारा पाएको छ । अब, हलमा नेपाली फिल्म जति हप्ता चले पनि निर्माताले ५० प्रतिशत नै शेयर पाउनेछन् । यसअघि, निर्माताले २ साता ५० प्रतिशत शेयर पाउने व्यवस्था थियो । त्यसपछि भने फिल्मको व्यापार जस्तो भएपनि निर्माताले पाउने शेयरको प्रतिशत घट्थ्यो । 

यसले, हलमा तेस्रो सातामा फिल्म चल्दै गर्दा बाहिर खुशी देखिए पनि भित्री रुपमा भने मन खल्लो बनाउँदै हिड्नुपर्ने निर्माताको पीडा सकिएको छ । 
यसपटक प्रदर्शकहरुलाई मनाउन निर्माताहरूलाई निकै सकस भयो । फिल्म ‘दिमाग खराब’को टिमले उठाएको मुद्दा सम्बोधन भएको छ । सिंगो फिल्म क्षेत्रको लागि लडेकोमा निर्देशक निश्चल बस्नेत र निर्माता रौनक विक्रम कँडेललाई धन्यवाद दिनैपर्छ । 

धन्यवादको पात्र, निर्माता तथा हल व्यवसायी दीपकराज गिरी पनि हुन् । जसले, लामो समयदेखि यो मुद्दा उठाउँदै आएका थिए । आफूले हल संचालन गरेको दिनबाट उनले निर्मातालाई ५० प्रतिशत शेयर दिन घोषणा गरेका थिए ।

उनको यो घोषणाले अरू प्रदर्शकलाई पनि दबाब श्रृजना गरेको थियो । दीपकले पनि ‘दिमाग खराब’ टिमले ५० प्रतिशत शेयरको माग राखेपछि अन्य प्रदर्शकहरुलाई ‘आफूले दिन सक्ने, अरूले दिन किन नसक्ने’ भन्दै निर्माताको मागलाई सम्बोधन गर्न दबाब दिइरहेका थिए । यसर्थ, निश्चल बस्नेत, दीपकराज गिरीसँगै यो मुद्दामा पहल गर्ने सबै निर्माता र साथ दिने प्रदर्शक धन्यवादका पात्र हुन् । 

नेपालमा बर्सेनि ५० वटा फिल्म बन्छन् । यो बर्ष पनि यो आँकडा ५० भन्दा माथि जाने देखिँदैन । तर, ५० वटा फिल्ममध्ये ३० वटाले त हलमा पानी पनि भन्न पाउँदैनन् । यी फिल्महरूलाई हलमा एक साता त के, दुई दिन टिक्न पनि मुस्किल पर्छ । यसपछि, केही फिल्म आउँछन्, जसले हलमा एक साता ठिकै र दोस्रो साता जसोतसो व्यापार गर्छन् । ती फिल्महरू पनि तेस्रो सातासम्म पुग्ने संभावना निकै कम देखिन्छ । यी बाहेक करिब १० वटा फिल्मले तेस्रो साताको उकालो चढ्छन् । 

यसरी हेर्दा, अब निर्माताले गतिलो फिल्म नबनाउने हो भने केही सीमित ब्यानर र निर्मातालाई भन्दा बाहेक ५० प्रतिशतको मागले अरूलाई खासै अर्थ राख्दैन । अर्थात्, ती निर्माताको लागि ५० प्रतिशत शेयर ‘हात्ती आयो हात्ती आयो फुस्स’ नै हुने पक्का छ । 

यसपटक प्रदर्शकले मन फुकाएका छन् । यसमा कतिपय प्रदर्शकको असन्तुष्टि पनि होला । तर, जे भएपनि फिल्म क्षेत्रमा लामो समयदेखि उठ्दै आएको ५० प्रतिशतको विवाद सकिएको छ । 

अब, निर्माताले पनि गतिलो फिल्म बनाउन आवश्यक छ । फिल्म भने दुई दिन पनि टिक्न नसक्ने बनाउने अनि ५० प्रतिशत चाहियो भनेर उफ्रिनुको अर्थ रहँदैन । 

यो ५० प्रतिशत शेयरले केही निर्माता र ब्यानरलाई मात्र फाइदा नदिओस् । फिल्म बनाउने आम निर्माताले यसको फाइदा लिन सकून् । यसका लागि फिल्म नै हेर्नलायक बनाउन आवश्यक छ । 

प्रदर्शकले त मन फुकाएका छन्, अब निर्माताले पनि गतिलो फिल्म बनाउन आवश्यक छ । 

यो पनि पढ्नुहोस्

निर्माता संघ र चलचित्र संघबिच ५० प्रतिशत शेयर बाँडफाँडमा सहमती

निर्मातालाई ५० प्रतिशत शेयर: ‘लुट’ पछि निश्चलले बनाएको अर्को कोशेढुँगा

बालेनको पत्रले प्रभावित हुनसक्छन् पाकिस्तान विरोधी भारतीय फिल्म