तेश्रो सातामा ‘दिमाग खराब’, २ सातामा कमायो ७ करोड
निश्चल बस्नेतको निर्देशनमा तयार भएको फिल्म ‘दिमाग खराब’ आजबाट तेस्रो सातामा प्रवेश गरेको छ । यो फिल्म कार्तिकको २४ गतेबाट रिलिजमा आएको थियो । दोस्रो सातासम्म फिल्मको व्यापार सुखद छ । फिल्मले २ सातामा ७ करोड ग्रस कलेक्शन गरेको निर्माणपक्षले उपलब्ध गराएको आँकडामा उल्लेख छ ।
फिल्मको वर्ड अफ माउथ बलियो भएकाले पनि यसले दर्शकको साथ अझै केही हप्ता पाउने देखिन्छ । विशेषगरि, अर्को साता रिलिज हुन लागेको हिन्दी फिल्म ‘एनिमल’ले यसको व्यापारमा केही असर गर्न सक्छ ।
फिल्ममा खगेन्द्र लामिछाने, दयाहाङ राई, अर्पण थापा, स्वस्तिमा खड्का, विजय बराल, सुमन कार्की लगायतका कलाकारको अभिनय छ । यो फिल्मले एउटा आम मानिसले थुप्रै हन्डर खाएपछि कसरी सरकारका लागि टाउको दुखाइको विषय बन्छ भन्ने कथालाई प्रस्तुत गरेको छ ।
फिल्मको टिमले उठाएको ५० प्रतिशत शेयर बाँडफाँडको माग समेत सुनुवाइ भएकाले निर्माताले पाउने शेयर अब केही बढ्नेछ । फिल्मलाई ४ करोड बजेटमा निर्माण गरिएको निर्माणपक्षले बताउँदै आएको छ ।
प्रतिक्रिया