५० प्रतिशत शेयर बाँडफाँडमा सहमती हुने संभावना, वार्ता जारी

नेपाल चलचित्र निर्माता संघ र नेपाल चलचित्र संघले गठन गरेको वार्ता टोलीबीच आज पनि वार्ता जारी छ । 

चलचित्र संघको कार्यालयमा भइरहेको वार्तामा विशेषगरि, निर्माताहरूले शेयर बाँडफाँडमा ५० प्रतिशतको मुद्दालाई जोडतोडका साथ उठाएका छन् ।

यो बाहेक अन्य थुप्रै बुँदामा बुधबार दिनभर छलफल भएको थियो । 

स्रोतले मेरो फिल्मसँग भन्यो–‘५० प्रतिशत शेयर बाँडफाँडदेखि अन्य थुप्रै विषयमा गम्भीर रुपमा छलफल भएको छ । दुवै पक्ष वार्तामा उठेका बुँदामा गम्भीर र सकारात्मक देखिएका छन् । आज टुंगो लाग्छ ।’

विशेषगरि, आम निर्माताहरूको चासोमा रहेको ५० प्रतिशत शेयर बाँडफाँडको विषयमा पनि सहमति हुन सक्ने संभावना उच्च रहेको वुझिएको छ । 
फिल्म ‘दिमाग खराब’को टिमले शोज र शेयर बाँडफाँडमा आफूहरूलाई हेपेको भन्दै फिल्म नै हलबाट उतार्ने घोषणा गरेको थियो । यसपछि, चलचित्र संघ र निर्माता संघका प्रतिनिधिहरु वार्तामा बसेका हुन् । 

‘दिमाग खराब’को प्रदर्शनलाई निरन्तरता दिँदै वार्ता अगाडि बढाउने सहमति भएको थियो । ५० प्रतिशत शेयर बाँडफाँडमा सहमति भएको खण्डमा विशेषगरि, निर्माताहरूका लागि ठूलो राहतको विषय बन्नेछ । आम निर्माताहरूको मुख्य माग पनि यही नै हो । आज बेलुकासम्म वार्ता टुंगोमा पुग्ने वुझिएको छ ।