प्रदर्शकका लागि टाउको दुखाइको बिषय बन्दै ५० प्रतिशत शेयरको मुद्दा

फिल्म ‘दिमाग खराब’को टिमले उठाएको ५० प्रतिशत शेयरको माग अहिले प्रदर्शकहरुका लागि टाउको दुखाइको विषय बनेको छ । 
उसो त, यो माग पहिलो पटक उठेको होइन । नेपाल चलचित्र निर्माता संघले बारम्बार यो मुद्दा उठाइरहेको छ । तर, प्रदर्शकहरुले हरेक समय आनाकानी गर्दै यो मुद्दालाई टार्दै आएका छन् । 

अशोक शर्मा चलचित्र संघको महासचिव भएको समयमा फिल्म रिलिजको दुई सातासम्म ५० प्रतिशत शेयर निर्माताले पाउने विषयमा सहमति गरिदिए । यसपछि, उनी प्रदर्शकहरुको निशानामा छन् । उनै, अशोक शर्मालाई निर्माता संघले चलचित्र संघसँगको वार्ता टोलीको संयोजक बनाएको छ । 

नेपाली फिल्म बनाउने निर्माताले हलबाट फिल्म रिलिजको पूर्ण अवधीभरको कमाइमा ५० प्रतिशत शेयर पाउनुपर्ने माग उठाउँदै आएका छन् । अरू, मुद्दामा सहमति गर्न प्रदर्शकहरु तयार भएपनि यो विषयमा कहिले पनि उनीहरू सकारात्मक बन्न सकिरहेका छैनन् । 

मंगलबार यो विषयमा वार्ता गर्नकालागि वार्ता टोली समेत गठन गरिएको थियो । तर, मंगलबार हुने भनिएको वार्ता आज बुधबार ३ बजेबाट मात्र सुरु गर्ने तयारी छ । फिल्म ‘दिमाग खराब’को प्रदर्शनलाई निरन्तरता दिँदै आज निर्माता संघ र चलचित्र संघका प्रतिनिधिले वार्ता गर्न लागेका हुन् । यदि, आजको वार्ता सफल नभएको खण्डमा ‘दिमाग खराब’को प्रदर्शन स्थगीत हुनेछ । 

चलचित्र निर्माता संघले ५० प्रतिशत शेयरको विषयमा निर्णय नभएको खण्डमा आन्दोलन सुरु गर्ने बताइसकेको छ । यसका लागि दुवै पक्षका वार्ता टोली सदस्यहरु आन्तरिक तयारीमा समेत लागेका छन् । 

बेलाबखत शोज बाँडफाँडको बिषयमा विवाद हुने गरे पनि निर्माताको मुख्य मुद्दा ५० प्रतिशत शेयरमा नै हो । यो मुद्दामा प्रदर्शकहरु उदार हुन सक्ने हो भने नेपाली फिल्मको मुख्य विवाद किनारा लाग्ने थियो । 

प्रदर्शकहरुका लागि आम्दानीको श्रोत फिल्मको कमाई मात्र छैन । हलमा बज्ने विज्ञापन, पपकर्न महंगोमा बेचेर आउने पैसा उनीहरूको मुख्य श्रोत हो । तर, निर्माताले हलबाट पैसा उठाउन सकेनन् भने उनीहरूको लगानी चौपट हुन्छ । यसैले, यो विवादमा प्रदर्शकहरु गम्भीर बन्न आवश्यक छ ।

आज हुने वार्ताले यो विषयलाई किनारा लगाउन सक्यो भने फिल्म क्षेत्रले एउटा गतिलो सन्देश आम दर्शक माझ दिन सफल हुनेछ । प्रदर्शकहरुले ५० प्रतिशतको मुद्दामा कन्जुस्याइँ नगरून् ।