‘दिमाग खराब’ टिम र निर्माता संघसँग चलचित्र संघको छुट्टाछुट्टै वार्ता
फिल्म ‘दिमाग खराब’को निर्माणपक्षले शेयर बाँडफाँडमा ५० प्रतिशतको माग राख्दै दिएको अल्टिमेटम आजबाट सकिदैछ । यदि, सहमती नभएको खण्डमा भोलीबाट फिल्म उतार्ने घोषणा यसका निर्देशक निश्चल बस्नेतले गरिसकेका छन् ।
फिल्मको टिमले दिएको अल्टिमेटम आजबाट सकिने भएपछि नेपाल चलचित्र संघका प्रतिनिधी र ‘दिमाग खराब’ टिमको वार्ता अहिले जारी छ ।
‘दिमाग खराब’को टिमले सिंगो फिल्म क्षेत्रकै हितका लागि वार्ता गर्ने बताइसकेको छ ।
‘दिमाग खराब’को टिमसँग वार्ता गरिरहेको नेपाल चलचित्र संघले यसपछि भने नेपाल चलचित्र निर्माता संघको टिमसँग वार्ता गर्ने भएको छ । निर्माता संघका महासचिव सुनिल कुमार थापाले मेरो फिल्मसँग भने–‘अहिले दिमाग खराबको टिमसँग वार्ता भैरहेको छ । यसपछि, हामीसँग वार्ता हुने सेड्यूल छ ।’
फिल्म ‘दिमाग खराब’को टिमले सिंगो फिल्म क्षेत्रलाई नै केन्द्रमा राखेर निर्णय गर्न आवश्यक छ । किनकी, निश्चल आफैले पनि निर्माताहरुको हकहितका लागि नै आफूहरुले यो आवाज उठाएको बताउँदै आएका छन् ।
तर, विशेष श्रोतका अनुसार ५० प्रतिशतको मागमा केही प्रदर्शकहरुले असहमती जनाइरहेका छन् । तर, चलचित्र निर्माता संघले भने निर्मातालाई ५० प्रतिशत शेयर दिनुपर्ने मागलाई जोडतोडका साथ उठाउने बताएको छ ।
लामो समयदेखि निर्माताले उठाउँदै आएको मुख्य माग पनि ५० प्रतिशतको नै हो । फिल्म रिलिजको अवधीभर ५० प्रतिशत शेयर निर्माताले पाउने निर्णय गर्न सक्ने हो भने प्रदर्शक र निर्माताबिचको लफडा धेरै हदसम्म किनारा लाग्ने देखिन्छ ।
तर, केही प्रदर्शकहरुको लोभका कारण यो निर्णय हुन अप्ठ्यारो परिरहेको हो । के आजको वार्तामा ५० प्रतिशतको मागमा सहमती होला त ?
प्रतिक्रिया