शोज बाँडफाँडमा लफडाः प्रदर्शकले नेपाली फिल्मलाई हेप्छन् कि निर्माता फन्डा खोज्छन् ?

गत बर्ष नेपाली फिल्म ‘ए मेरो हजुर ४’ले भारतीय फिल्म ‘केजीएफ २’सँग प्रतिस्पर्धा गर्दा शो कम पायो । फिल्मका निर्माता सुनिल कुमार थापा र निर्देशक झरना थापाले शो बाँडफाँडमा विभेद भएको भन्दै आक्रोश पोखे । नेपाली फिल्ममाथि प्रदर्शकको सधै नै हेपाहा प्रवृत्ती रहेको गुनासो सुनियो । 

गतबर्ष नै रिलिजमा आएको फिल्म ‘राधा’का निर्माताले हलमा शोज कम पाएको भन्दै फिल्मको प्रदर्शन नै स्थगित गरे । यो बर्ष फिल्म ‘बुलाकी’का निर्माताले पनि शोज कम पाएको भन्दै फिल्म हलबाट उतारे ।
 
गतबर्ष रिलिजमा आएको फिल्म ‘प्रकाश’का नायक प्रदीप खड्काले बलिउड फिल्मलाई च्यापेर आफ्नो फिल्मलाई कम शोज दिएको भन्दै पत्रकार सम्मेलन मार्फत आक्रोश पोखे । अहिले हलमा चलिरहेको फिल्म ‘दिमाग खराब’का निर्माता तथा निर्देशक निश्चल बस्नेतले प्रदर्शकले हिन्दी फिल्मलाई च्यापेर आफूहरुलाई अन्याय गरेको भन्दै फिल्म नै उतार्ने चेतावनी दिए । यसपछि भने, फिल्मको शोज बढेको छ र प्रदर्शन पनि निरन्तर भैरहेको छ ।  

बारम्बार नेपाली फिल्मका निर्माताले हलहरुले हेप्ने गरेको, विदेशी फिल्मको अगाडि आफूहरुलाई कमजोर सोच्ने गरेको भन्दै आक्रोश पोख्ने गर्छन् । यो लफडाले अहिलेसम्म कुनै पनि किनारा पाउन सकेको छैन ।  

नेपाल चलचित्र निर्माता संघका महासचिव सुनिल कुमार थापाले प्रदर्शकले सधै नै नेपाली फिल्मलाई हेप्ने गरेको तर्क गरेका छन् । मेरो फिल्मसँगको कुराकानी उनले भने–‘प्रदर्शकहरुले सधै नै नेपाली फिल्मलाई कमजोर सोच्ने गर्छन् । नेपाली फिल्म चल्दैन, दर्शक नै आउँदैनन् भनेर पहिले नै आँकलन गरिन्छ । यसकारण पनि शोज बाँडफाँडमा नेपाली फिल्ममाथि अन्याय हुने गरेको हो ।’

सुनिलले शोज बाँडफाँडको बिषयमा भन्दा पनि शेयरको बिषयमा आवाज उठाउनुपर्नेमा जोड दिएका छन् । उनले भने–‘कहिलेकाही प्रदर्शकहरुले शोज बाँडफाँडमा नेपाली फिल्मलाई हेप्ने गर्छन् । कहिलेकाही भने यसै पनि हल्ला हुने गरेको छ । तर, मुख्यकुरा शोज बाँडफाँड भन्दा पनि ५० प्रतिशत शेयरको बिषयमा आवाज उठ्नु जरुरी छ । किनकी, हलले विज्ञापन, क्याफेबाट राम्रो पैसा कमाउँछन् । तर, निर्माताले भने पैसा कमाउने आधार हलबाट आउने शेयर नै हो ।’

यता, हलवालाहरुको छाता संगठन नेपाल चलचित्र संघका महासचिव नरेन्द्र महर्जनले नेपाली फिल्मलाई प्रदर्शकले कहिले पनि नहेपेको जिकिर गरेका छन् । उनले भने–‘हामीले फिल्म रिलिज अगाडि त्यसको अकुपेन्सीको आँकलन गरेका हुन्छौं । कहिलेकाही त्यो आँकलन सही हुन्छ, कहिलेकाही फेल खान्छ । आखिर, कुन फिल्ममा दर्शक कती आउँछन् भन्ने कुरा त कसैलाई थाहा हुँदैन । फेरि अर्कोतिर, हामीलाई नेपाली फिल्म चलाउँदा नै फाइदा छ । साढे ७ प्रतिशत त हामीलाई यसै पनि नेपाली फिल्मबाट फाइदा छ भने सकेसम्म त हामी नेपाली फिल्म नै चलाउन खोज्छौं नी । तर, फिल्मका लािग शोज मात्र दिएर पनि भएन । दर्शक आउनु पनि पर्यो ।’

‘दिमाग खराब’को बिषयमा महर्जनले भने–‘यो फिल्मलाई हामीले निकै राम्रो शोज दिएका हौं । ‘दिमाग खराब’लाई दिएको शो अनुसार त अब ‘टाइगर ३’ नेपालमा खासै चल्दैन भनेर हामीले आँकलन गरेका थियौं । तर, ‘दिमाग खराब’ शुक्रबार र शनिबार खासै चलेन । तर, ‘टाइगर ३’ को बुकिङ आक्रामक भैदियो । त्यतीबेला हामीले ‘दिमाग खराब’का लागि दिएको शोज होल्ड गरेका थियौं । शोज दिएर मात्र भएन, मानिस पनि आउनुपर्यो नी होइन र ?’

नरेन्द्रका अनुसार, कहिलेकाही हलहरुले शोज नदेखाएर होल्ड गर्ने गरेको र दर्शक आउन थालेपछि त्यसलाई सार्वजनिक गर्ने गरेको तर्क गरे । तपाइहरु वितरकको दबाबमा विदेशी फिल्मलाई शोज बढी दिन लागिपर्नुहुन्छ रे हो भन्ने प्रश्नमा महर्जनले भने–‘पहिले पहिले त्यस्तो हुन्थ्यो होला । तर, अहिले कसैको दबाबमा पर्ने भन्ने कुरा त चान्स नै छैन । कसैको स्वार्थमा चलाउँदा घाटा त हामीलाई नै हो । यसैले, कोही कोही वितरकको दबाबमा पर्लान्, तर सबैले त्यसो गर्दैनन् ।’

५० प्रतिशत शेयरको बिषयमा महर्जनले भने–‘हामी सधै नै यो बिषयमा छलफल गर्न तयार नै छौं । अब, तिहारपछि यो बिषयमा कुराकानी गर्ने भन्ने कुरा भएको छ । अब, कुनै पनि संझौता गरिसकेपछि त्यसलाई ५ बर्षसम्म चलाउन नपर्ने गरि गर्नुपर्छ भन्ने हाम्रो धारणा हो ।’

नरेन्द्रले विदेशी फिल्मका वितरकको प्रभावमा नपर्ने बताइरहँदा निर्माता संघका महासचिव सुनिल कुमार थापा भने विदेशी फिल्मका वितरकको दबाबमा प्रदर्शकहरुले शोज बढी दिने गरेको बताउँछन् । उनले भने–‘बिदेशी फिल्म ल्याउने वितरकले आफ्नो फिल्मलाई शोज नदिए अर्को फिल्म नै दिदैनौं भनेर चेतावनी दिन्छन् । यसपछि, त प्रदर्शक पनि डराउने भैहाले । अर्कोतिर, विदेशी फिल्म किन्नेहरुले चाडै नै लगानी उठाउन खोज्छन् । यसकाकारण, उनीहरु धेरै शोजका लागि दबाब दिन्छन् ।’

नेपाली फिल्ममाथि हेपाहा प्रवृत्ती हाबी भयो भनेर बारम्बार आवाज उठाउने निर्माता हुन् दीपकराज गिरी । उनै, दीपकराज गिरी अहिले हल मालिक समेत भएका छन् ।

प्रदर्शक र निर्माताबिचको लफडाको बिषयमा दीपक भन्छन्–‘यो बिषयमा वितरकले सबै भन्दा ठूलो भूमिका खेल्न सक्छन् । तर, विदेशी फिल्म किन्ने वितरक चाडो भन्दा चाडो लगानी उठाइहालौं भन्ने सोचका साथ काम गर्छन् । यस्तो अवस्थामा नेपाली फिल्म चेपुवामा पर्ने गरेका छन् । हामीले हाम्रो हलमा सुरुवातमा दिमाग खराबलाई सानो हल दिएका थियौं । तर, दर्शक जब नेपाली फिल्ममा बढेर बलिउड फिल्ममा घट्न थाले त्यसपछि ठूलो हल दिएका छौं । मुख्यकुरा, दर्शकको रुची कुन फिल्ममा बढी छ भन्ने पनि हो । कतिपय अवस्थामा निर्माताले पनि फन्डा मच्चाएर दर्शकको सहानुभुती तान्न खोजेको देखिन्छ ।’

वितरक गोविन्द शाही प्रदर्शकहरुले नेपाली फिल्मलाई राम्रो शोज दिएको बताउँछन् । उनले भने–‘नेपाली फिल्मको बिहानी शोमा दर्शकको चाप कम हुने र विदेशी फिल्मको बढी भएको देखिन्छ । यसैले, बिहानी शोको हकमा नेपाली फिल्मले कम शो पाएका होलान् । तर, अधिकांश नेपाली फिल्मले प्राइम टाइममा नै शो पाएका छन् ।’

उनले ‘दिमाग खराब’ले निकै नै राम्रो शोज पाएको भन्दै निर्माताले किन फिल्म उतार्न खोजेका हुन् भन्ने कुरा आफूलाई थाहा नभएको बताए ।
नेपाली फिल्मलाई प्रदर्शकले सधै नै हेप्ने गरेको र चेपुवामा पार्ने गरेको गुनासो लामो समयदेखि सुनिदै आइएको छ ।

यसमा प्रदर्शक, निर्माता र वितरकको आफ्नै खालको तर्क छ । तर, यो समस्याले दुरगामी समाधान नपाएसम्म यस्तो खालका विरोधका स्वरहरु सुनिरहन्छन् । यसैले, दुबै पक्ष वार्तामा बसेर दुरर्शीता प्रदर्शन गर्न आवश्यक छ । 

कहिलेकाही ठूलो विदेशी फिल्म आउँदा नेपाली फिल्म चेपिने गरेको कुरा गलत होइन । तर, कहिलेकाही हलमा दर्शक नै नआउँदा पनि हलले पक्षपात गरे भन्दै निर्माताले फन्डा गरेको कुरा पनि गलत होइन । यो बिषयमा दुबै पक्ष मिलेर चाडो भन्दा चाडो समाधान खोज्ने नै नेपाली फिल्म क्षेत्रका लागि उत्तम उपाय हो ।