खलपात्रमा जम्दै अर्पण थापा, ‘बलिदान’मा अनुबन्धित

नायक अर्पण थापाको परिचय नायक बाट खलनायकको रुपमा मोडिएको छ । फिल्मी पर्दामा हरेक प्रकारको भूमिकालाई बलियो रुपमा निर्वाह गर्न सक्ने यी कलाकारलाई दर्शकले पनि खलपात्रको रुपमा बढी रुचाएका छन् । 

अर्पण थापाले अभिनय गरेको फिल्म ‘दिमाग खराब’ हलमा लागिरहेको छ । यो फिल्ममा मेयरको भूमिका नेगेटीभ रुपमा देखिएका अर्पणलाई दर्शकले रुचाइरहेका छन् । यसअघि उनको भूमिकालाई फिल्म ‘प्रसाद २’मा पनि रुचाइयो । यो फिल्ममा पनि नेगेटीभ क्यारेक्टरमा देखिएका अर्पणले प्रशंसा खुबै पाए । 

तर, उनलाई नायकको रुपमा प्रस्तुत गरिएको फिल्म ‘जय हो’ले खासै चर्चा पाएन । अर्पणको कमजोर अभिनयको रुपमा ‘जय हो’ चित्रित भयो । 

उनै, अर्पणलाई अब निर्माता तथा निर्देशक सन्तोष सेनले फिल्म ‘बलिदान’मा अनुबन्धित गरेका छन् । अर्पणलाई फिल्ममा खलपात्रको रुपमा प्रस्तुत गर्ने तयारी सन्तोषको छ । उनले भने–‘उहाँको केही फिल्म हेरेपछि म निकै नै प्रभावित भए । हामीलाई पनि एक जना पहाडिया भिलेन पात्रको आवश्यकता थियो । जसमा अर्पणजी पूर्ण रुपमा फिट हुने देखेपछि उहाँको समय लिएको हुँ ।’

उसो त, अर्पणले खलपात्रको भूमिका यसअघि निर्वाह नै नगरेका भने होइनन् । तर, यो बर्ष उनलाई दर्शकले अझै बुलन्द भिलेनको रुपमा हेर्न पाइरहेका छन् । 

सन्तोषले फिल्मको प्रि टिजर सार्वजनिक गरेपछि दर्शकको चासो पनि ह्वात्तै बढेको छ । यसैले, प्रि प्रोडक्शनमा नै केही समय लगाएर काम गर्ने तयारी उनको छ । फिल्मका लागि अरु कलाकार फाइनल गरिएको छैन ।