‘दिमाग खराब’ टिमको बोल्ड निर्णयमा फिल्मीकर्मीको ऐक्यवद्धता
शुक्रबारदेखि रिलिजमा आएको नेपाली फिल्म ‘दिमाग खराब’लाई भोली शुक्रबारदेखि हलबाट उतार्ने निर्णय यसको निर्माणपक्षले गरिसकेको छ । फिल्मको शोज बाँडफाँडमा चर्को विभेद गरिएको भन्दै फिल्मका निर्देशक निश्चल बस्नेत र निर्माता रौनक विक्रम कँडेलले भोली शुक्रबारदेखि फिल्म हलबाट उतार्ने निर्णय गरिसकेका छन् ।
फिल्मको टिमको यो निर्णय सार्वजनिक भएसँगै फिल्म क्षेत्रका अधिकांश निर्माता र निर्देशकले यसमा ऐक्यवद्धता देखाएका छन् ।
फिल्म ‘महाजात्रा’का निर्देशक प्रदीप भट्टराइले निर्देशक बस्नेतको पोष्ट शेयर गर्दा आफू पनि साथमा रहेको बताएका छन् ।
यस्तै, फिल्म ‘महाजात्रा’का कार्यकारी निर्माता तथा कलाकार रविन्द्र सिंह बानियाँले पनि निश्चलको कदममा ऐक्यवद्धता जनाउँदै लेखेका छन्–‘आज यो फिल्म मात्र होइन, हामीलाई समान शेयर बाँडफाँड नहुँदासम्म सम्पूर्ण नेपाली फिल्म हलमा प्रदर्शन रोक्नेतर्फ सबै निर्माता मिलेर अगाडि बढौं ।’
यस्तै, निर्देशक दीपेन्द्र के खनालले ‘पर्दा भित्र पात्रहरुको संघर्ष, पर्दा बाहिर पात्र बनाउँनेहरुको संघर्ष’ भन्दै आफू ‘दिमाग खराब’को टिमसँग रहेको उल्लेख गरेका छन् ।
फिल्म ‘ऐँचो पैँचो’की निर्देशक कृषा चौलागाँइले पनि आफू निश्चलको साथमा रहेको भन्दै समर्थन जनाएकी छिन् । चलचित्र निर्देशक समाजका अध्यक्ष जनकदिप पराजुलीले पनि लामो स्टाटस कोर्दै निश्चलको कदममा आफ्नो पूर्ण समर्थन रहेको लेखेका छन् ।
यस्तै, निर्देशक मनोज पण्डितले पनि निश्चल र फिल्मको टिमको कदममा ऐक्यवद्धता जनाएका छन् । उनले ओपनिङको कठोर दबाबबाट नेपाली फिल्मका श्रष्टाहरुलाई मुक्त गराउन आवश्यक रहेको उल्लेख गरेका छन् ।
फिल्म क्षेत्रका केही निर्माता, निर्देशक र प्रदर्शकबाहेक अधिकांशले ‘दिमाग खराब’को बोल्ड निर्णयमा ऐक्यवद्धता जनाएका छन् ।
प्रतिक्रिया