शोज बाँडफाँडमा पक्षपात भएको भन्दै ‘दिमाग खराब’ हलबाट उतार्ने घोषणा

शुक्रबारदेखि रिलिजमा आएको फिल्म ‘दिमाग खराब’लाई हलबाट उतार्ने घोषणा यसको निर्माणपक्षले गरेको छ । प्रदर्शकहरुसँग २ वटा शर्त राख्दै पुरा नभएको खण्डमा हलबाट उतार्ने घोषणा निर्देशन निश्चल बस्नेत र निर्माता रौनक बिक्रम कँडेलले गरेका छन् । 

फेसबुक लाइभमा आफ्नो भनाई राख्दै निश्चलले बिदेशी फिल्म र नेपाली फिल्मबिच शोज बाँडफाडमा ठूलो पक्षपात भएको भन्दै निश्चलले लाइभमा भनेका छन्–‘शुक्रबार र शनिबार हाम्रो फिल्मको अकुपेन्सी राम्रो थिएन । यसैले, शोजका लागि हामीले दबाब दिने कुरा थिएन । तर, आइतबारबाट हाम्रो फिल्ममा दर्शकको चाप बढ्न थालेको छ । तर, पर्याप्त शोज छैन । हामीले पनि ४ करोडमा फिल्म निर्माण गरेका छौं । यसरी विभेद भएपछि कसरी लगानी उठाउन सक्छौं ।’

उनले अगाडि भनेका छन्–‘दर्शकको अकुपेन्सी उत्कृष्ट हुँदाहुँदै पनि हाम्रो शोज निकै कम छ । तेश्रो साताबाट हामीले जम्मा ३५ प्रतिशत मात्र शेयर पाउँछौं । त्यतीबेला हाम्रो फिल्मले कसरी लगानी उठाउन सक्छ । विदेशी फिल्म कमजोर भएपछि हाम्रो फिल्मको शोज बढ्छ । तर, त्यसले निर्मातालाई फाइदा दिदैन ।’

निश्चलले प्रदर्शकसँग २ शर्त राख्दै भनेका छन्–‘हामीले शुक्रबारदेखि बोल्ड निर्णय गरेका छौं । यदि, हाम्रो फिल्मको शोज विदेशी फिल्मको बराबर भएन भने र फिल्म हलमा प्रदर्शन भइन्जेलसम्म ५० प्रतिशत शेयर नपाउने हो हामी शुक्रबारदेखि फिल्म उतार्ने निर्णयमा पुगेका छौं ।’

निश्चलले आफूहरुले अब अर्को प्लेटफर्मबाट फिल्म देखाउने समेत बताए । उनले भने–‘प्रदर्शकहरुले सधै नै विदेशी फिल्मको अगाडि हामीलाई पक्षपात गर्ने हो भने हामीले पनि अर्को प्लेटफर्मको विकल्पमा जानुपर्ने हुन्छ ।’
शुक्रबारदेखि रिलिजमा आएको यो फिल्मले बलिउड फिल्म ‘टाइगर ३’सँग प्रतिस्पर्धा गरिरहेको छ । आइतबारदेखि रिलिजमा आएको बलिउड फिल्मको भन्दा नेपाली फिल्मलाई शोज निकै कम छ । यसैले, निर्माताले फिल्म नै उतार्ने बोल्ड निर्णय गरेका हुन् ।