टिकटक बन्द गर्ने सरकारको निर्णय, के भन्छन् टिकटकर ? ?
नेपाल सरकारले टिकटक एप बन्द गर्ने निर्णय गरेको छ । नेपालमा सर्वाधिक लोकप्रिय मानिएको यो एपलाई बन्द गर्ने निर्णय मन्त्रिपरिषदले गरेको हो ।
टिकटकबाट सामाजिक सद्भावमा खलल पुगेको भन्दै सरकारले बन्द गर्ने निर्णय गरेको सञ्चारमन्त्री रेखा शर्माले बताएकी छिन् । टिकटक बन्द गर्ने निर्णय तत्काल कार्यान्वयनमा आउने मन्त्री शर्माले बताइन् ।
उसो त टिकटक बन्द गर्ने नेपाल पहिलो देश भने होइन । यसअघि भारत लगायत आधा दर्जन देशले टिकटक एप बन्द गरिसकेका छन् ।
नेपाल सरकारले टिकटक बन्द गर्ने निर्णय गरेसँगै सामाजिक संजालमा विभिन्न खालका प्रतिक्रिया आइरहेका छन् ।
केहीले सरकारको यो निर्णयमा खुशी व्यक्त गरेका छन् भने कतिपयले अभिव्यक्ति स्वतन्त्रतामा बन्देज लगाउन लागेको भन्दै आपत्ति जनाएका छन् । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले सरकार उल्टो बाटोमा हिँडेको भन्दै विरोध गरेका छन् ।
टिकटक बन्द हुने निर्णयसँगै यही एपबाट स्टार बनेकादेखि यही एपमा रहेर लाखौं रकम कमाउँदै आएकाहरुलाई भने समस्या पर्ने देखिएको छ । टिकटकबाट नेपाली म्युजिक भिडियो क्षेत्रदेखि फिल्म क्षेत्रमा केही प्रतिभाहरूको आगमन भइसकेको छ ।
विशेष गरि, टिकटकले पछिल्लो समय व्यापार व्यवसायमा महत्वपूर्ण भूमिका खेलेको थियो । आफ्ना सामाग्रीहरु निःशुल्क प्रचार गरेर व्यापार गर्नेहरूको संख्या बढेको थियो ।
टिकटकबाट म्युजिक भिडियो हुँदै फिल्मसम्म आएकी मोडल गरिमा शर्मा टिकटक बन्द हुने निर्णयले आफूलाई आंशिक असर पर्ने बताउँछिन् ।
उनले भनिन्–‘मलाई अहिले त त्यस्तो ठूलो असर पर्छ जस्तो लाग्दैन । नयाँ मेकरहरुले अब टिकटक नभएपछि गरिमाले प्रचार पनि गर्न सक्दिनन् भनेर भिडियोमा नलिन सक्नुहुन्छ । पुरानोसँग त म निरन्तर काम गरिरहेको छु । टिकटकले फिल्मको प्रचारमा भने खासै भूमिका खेल्छ जस्तो मलाई लाग्दैन ।’
गरिमाले आफू टिकटकमा लाइभ बस्न पनि छाडेको बताइन् । यस्तै, टिकटकबाट नै उदाएकी अर्को मोडल उषा उप्रेतीले टिकटक बन्द हुँदा आफूलाई त्यस्तो ठूलो प्रभाव नपर्ने बताइन् ।
उनले भनिन्–‘टिकटक बन्द भयो भने अर्को कुनै विकल्प त आइहाल्छ नी । टिकटक बन्द हुँदा हामीलाई भन्दा पनि व्यापार व्यवसायको प्रचार गर्नेहरुलाई बढी घाटा हुन्छ जस्तो लाग्छ । कुनै पनि कुराको दुई पाटा हुन्छन् । नराम्रा कुराहरुलाई नियमन गर्दै राम्रा पाटाहरुलाई अगाडि बढाउनु पर्ने हो जस्तो मलाई लाग्छ ।’
यस्तै, टिकटकमा सर्वाधिक फलोअर्स कमाएका दिदी बहिनी जोडी प्रिज्मा र प्रिन्सी यही एपबाट सुपरहिट भए । आजको दिनमा उनीहरुको क्रेज म्युजिक भिडियोमा हिट छन् । यो बिषयमा प्रिज्माले भनिन्–‘यदि, सामाजिक सद्भावमा नै खलल पुर्याएका कारण बन्द गरिएको हो भने यसलाई नियमन गर्ने गर्नुपर्ने हो । उच्छृङ्खल भिडियोहरुमा प्रतिबन्ध लगाएको भए हुन्थ्यो । तर, प्लेटफर्म नै प्रतिबन्ध गर्नु गलत हो ।’
प्रिज्माले अगाडि भनिन्–‘यो एपबाट हामीले कुनै पनि सामाग्रीको मार्केटिङ गर्नेदेखि गीतको प्रमोशन सम्म गरिरहेका थियौं । एपबाट हामीले राम्रो पैसा पनि कमाइरहेका थियौं । तर, यसलाई नियमन गर्नुको साटो बन्द नै गर्ने निर्णय गर्नु गलत हो । यसलाई नियमन भने गर्न आवश्यक थियो ।’
नेपालमा विशेषगरि पुरुष भन्दा बढी महिला टिकटक प्रयोगकर्ता छन् । कतिपयले यो एपबाट आफ्नो प्रतिभा देखाउँदै माथिल्लो तहसम्म पुगेका छन् । यस्तै, आफ्ना सानादेखि ठूला व्यवसायसम्मको प्रचार गर्नका लागि टिकटक उपयुक्त प्लेटफर्म बनेको थियो । तर, यही टिकटकबाट अश्लिलता फैलाउने, सामाजिक सद्भावमा खलल पुर्याउने शैली पनि तिव्र रुपमा विकसित भैरहेको थियो ।
सरकारले केही दिन अगाडि मात्र टिकटक कम्पनीसँग कुराकानी पनि गरेको थियो । त्यसपछि, टिकटकमा रहेका सामाजिक सद्भाव विगार्ने भिडियोहरु हटाउन टिकटक तयार भएको खबरहरु पनि आएको थियो । तर, सरकारले टिकटकलाई तत्कालका लागि प्रतिबन्ध गर्ने निर्णय गरेको छ ।
प्रतिक्रिया