‘दिमाग खराब’को व्यापार उत्साहजनक, हलमा लाग्यो ‘जिन्दाबाद’को नारा

रिलिजको पहिलो दिन शुक्रबार औसत ओपनिङ गरेको फिल्म ‘दिमाग खराब’ले आज शनिबार भने उत्साहजनक व्यापार गरिरहेको छ । बिहानबाट हलमा दर्शकको उच्च चाप देख्न सकिन्छ । मध्यान्हपछि भने अधिकांश हलमा दर्शकको चाप लोभलाग्दो छ । हलमा दर्शकको चाप बढेपछि यसको टिम पनि विभिन्न हलमा पुगेर दर्शकको प्रतिक्रिया लिइरहेका छन् । 

आज बिहान लाबिम मल पुगेर दर्शकको प्रतिक्रिया लिएका निर्देशक निश्चल बस्नेतले उत्साह व्यक्त गरे । फिल्म हेर्न आएका सबै जसो दर्शकले यसको कथावस्तुलाई रुचाएका छन् । 

यो फिल्म आम नेपालीहरूले हेर्नुपर्ने धारण राख्दै दर्शकहरुले लामो समयपछि एउटा सशक्त कथामा फिल्म हेर्न पाएको बताएका थिए । 

यो फिल्मले नेपालको राजनीतिक रुपान्तरणमा महत्वपूर्ण भूमिका खेल्न सक्ने धारणा छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले त सार्वजनिक कार्यक्रममा पुगेरै यो फिल्म हेर्न आग्रह गरिरहेका छन् । 

दर्शकको प्रतिक्रिया लिन हल पुगेका कलाकार खगेन्द्र लामिछानेले आफ्नो चाडमा आफ्नै देशको फिल्म हेर्नुपर्ने तर्क गरे । यस्तै, निर्देशक निश्चल बस्नेतले पनि दर्शकको उच्च साथ मिलेको भन्दै खुशी व्यक्त गरे । 

नायिका स्वस्तिमा खड्का पनि मिडियाको अगाडि खुशी सुनिइन् । नेताहरूको चरम शोषणपछि जनताले कसरी दिमाग खराब गराउँछन् भन्ने कथालाई यो फिल्मले उठान गरेको थियो । फिल्म हेरेका दर्शकले हलमै ‘दिमाग खराब जिन्दाबाद’को नारा लगाएका थिए ।