निश्चल बस्नेतः जसले बेलाबेलामा ‘दिमाग खराब’ गर्छन्
बिजय आवाज/पवन भट्टराई
जति बेला नेपाली फिल्म क्षेत्रका संकटकाल लगाउने तयारीमा तत्कालीन विकास बोर्ड अध्यक्ष राजकुमार राई लागेका थिए, त्यति नै बेला नेपाली फिल्म क्षेत्रमा निश्चल बस्नेतको आगमन भयो । फिल्म ‘लूट’लाई दर्शक माझ ल्याएपछि, फिल्म क्षेत्रमा तरंग नै पैदा भयो । यो फिल्मले बक्स अफिसमा बम्पर व्यापार मात्र गरेन, फिल्म भन्ने भाषा नै बदलिदियो ।
यो फिल्मले बम्पर व्यापार गरेपछि राजकुमार राईको संकटकाल लगाउने योजना पनि स्थगीत भयो । फिल्म क्षेत्रमा नयाँ कथा जन्मियो ।
यसपछि, ‘चपली हाइट’ लगायतका फिल्मले व्यापारिक रुपमा सफलता पाए । निश्चल त्यस्ता एक जना निर्देशक हुन्, जसले फिल्म राम्रो त बनाउँछन् नै, फिल्म क्षेत्रको शैली नै परिवर्तन गर्ने खुबी राख्छन् ।
यसपछि, निश्चलले फिल्म ‘टलकजंग भर्सेस टुल्के’को निर्देशन गरे । तत्कालीन माओवादी जनयुद्धको कथालाई यो फिल्मले गजब तरिकाले भनेको छ । फिल्मले सर्वत्र तारिफ पायो ।
निश्चलले फिल्मको भाषा मात्र परिवर्तन गरेनन्, कलाकारको बारेमा आम मानिसले सोच्ने सोच पनि परिवर्तन गरिदिए । चकलेटी अनुहार, कसिलो जिउडाल, अग्लो कद भएका व्यक्तिलाई मात्र हिरो भन्ने सोच आम मानिस र नेपाली फिल्मका मेकरमा थियो । निश्चलले यसको परिभाषा पनि बदलिदिए । आज, यही फिल्मबाट स्टार बनेका दयाहाङ राई, सौगात मल्लहरुले फिल्म क्षेत्र हाँकिरहेका छन् ।
निश्चलले फिल्म ‘लुट २’ पनि निर्देशन गरे । दर्शकले अपेक्षा गरे अनुसारको फिल्म बन्न सकेन । यसपछि, निश्चलले केही समय ब्रेक लिए । ७ बर्षको अन्तरमा उनले दर्शकको ‘दिमाग खराब’ आफ्नो अभिनय र नृत्यबाट पनि गरे । यसैले, ‘दिमाग खराब’बाट उनको कमब्याक भन्नु त्यति तर्क संगत नहुन सक्छ ।
उनै, निश्चलले निर्देशन गरेको चौथो फिल्म ‘दिमाग खराब’ शुक्रबारदेखि हलमा लागेको छ । यो फिल्मले फेरि राजनीतिक फिल्मको नयाँ भाषा भन्ने कोशिश गरेको छ ।
एउटा राजनीतिक कथालाई कसरी समय सान्र्दभिक र कमर्सियल शैलीमा भन्न सकिन्छ भन्ने दरिलो उदाहरण निश्चलले ‘दिमाग खराब’बाट दिएका छन् । यो फिल्ममा कमजोरी नै नभएको होइन । तर, निश्चलले जसरी फिल्मको निर्देशन गरेका छन्, एउटा सामान्य कथामा उनको काम तारिफयोग्य छ ।
फिल्मको नाम नै ‘दिमाग खराब’ छ । यसैले, कुनै न कुनै कोणबाट दर्शकको दिमाग खराब हुनु स्वभाविक नै हो । तर, फिल्मको यो कथाले नेताहरुको दिमाग खराब गराउने कुरामा दुईमत छैन ।
किनकी, फिल्म देशको राजनीतिक परिवेश नै परिवर्तन गर्न सक्ने बलियो हतियार हो । केही महिना अगाडि रिलिज भएको बलिउड फिल्म ‘जवान’ले भारतमा राजनीतिक कोर्ष नै परिवर्तन गर्न सक्ने क्षमता राखेको तर्क हुने गरेका छन् । यो फिल्म हेरेपछि नाइजेरियाका जनताले आफ्नो सरकारसँग थुप्रै प्रश्न उठाउन थालेका छन् ।
‘दिमाग खराब’ पनि त्यस्तै एक सशक्त फिल्म हो । जसले, वि.सं २०८४ को निर्वाचनमा कुनै न कुनै रुपमा प्रभाव पार्न सक्छ ।
निश्चलले फिल्मको निर्देशन गरेर मात्र होइन, यो फिल्म भित्र आफ्नो लागि बलियो भूमिका समावेश गरेर दर्शकको ‘दिमाग खराब’ गरेका छन् ।
सायद, फिल्ममा निश्चलको हरेक पटकको इन्ट्रीमा दर्शकको हुटिङ बज्छ होला । फिल्म हेरेर फर्किएपछि निर्देशक ज्ञानेन्द्र देउजाले निश्चलले फेरि एकपटक फिल्म क्षेत्रको नै ‘दिमाग खराब’ गरेको प्रतिक्रिया दिएका थिए ।
निश्चल बस्नेतका अनुसार, अब उनले नयाँ फिल्मका लागि ७ बर्ष लगाउने छैनन् । अर्को फिल्मका लागि स्क्रिप्ट तयार हुँदै गरेको र चाडै नै छायांकनमा जाने उनले मिडिया प्रतिक्रिया बताएका छन् ।
बेलाबखत नेपाली फिल्म क्षेत्र र आम दर्शकको ‘दिमाग खराब’ गराउने निश्चलले अब आउँदो प्रोजेक्टबाट फेरि कुनै न कुनै बिषयमा सशक्त कथा भन्न सकुन् ।
प्रतिक्रिया