‘पशुपति प्रसाद ३’ निर्माणको घोषणा


टुकी आर्टस्ले फिल्म ‘पशुपति प्रसाद ३’ निर्माणको घोषणा गरेको छ । आज आयोजना गरिएको पत्रकार सम्मेलनमा फिल्मका लेखक खगेन्द्र लामिछानेले दर्शकहरुको सबै जिज्ञासा र चाहनालाई समेटेर तेश्रो सिक्वेल बनाउने घोषणा गरे । 

फिल्मको कथा खगेन्द्रले नै लेख्नेछन् भने निर्देशनको जिम्मा दीपेन्द्र के खनाललाई नै सुम्पेका छन् । फिल्ममा रोजिना सिटौलाको लगानी रहनेछ । 

फिल्मले ‘पशुपति प्रसाद’कै कथालाई अगाडि बढाउने निर्माणपक्षले बताएको छ । फिल्म ‘पशुपति प्रसाद २ः भष्मे डन’ रिलिज भएको चौथो हप्तामा सफलताको केक काट्दै तेश्रो सिक्वेल निर्माणको घोषणा गरिएको हो । 

फिल्मका लेखक तथा मुख्य कलाकार खगेन्द्र लामिछानेले भने–‘दोश्रो सिरिजमा थुप्रै पात्रहरु छरिएका छन् । अब, यी सबै पात्रहरुलाई एक ठाउँमा समेट्ने जिम्मा पनि हाम्रै हो । दर्शकले पनि तेश्रो सिरिज निर्माणको माग गर्नु भएको छ । यसैले, हामीले यसको तेश्रो सिक्वेल बनाउने तयारी गरेका हौं ।’

निर्देशक दीपेन्द्र के खनालले पत्रकार सम्मेलनमा भने–‘फिल्मको दोश्रो सिक्वेलले थुप्रै प्रश्नहरु छाडेको छ । ती प्रश्नको जवाफ हामीले नै दिनुपर्छ । कथा हामीले नै सुरु गरेका थियौं भने त्यसलाई बिट मार्ने काम पनि हाम्रै हो ।’

फिल्मका वितरक अशोक शर्माले यस्तो परिस्थितीमा पनि फिल्मले राम्रो व्यापार गरेको बताए । उनले भने–‘थुप्रै फिल्मले त पोष्टरको पैसा समेत उठाउँदैनन् । पशुपति प्रसाद २ः भष्मे डनले अपेक्षा गरे अनुसारको व्यापार नगरेको पक्का हो । तर, यसले गरेको व्यापारलाई सुखद मान्नुपर्छ ।’

फिल्म ‘पशुपति प्रसाद २ः भष्मे डन’मा विपिन कार्की, सौगात मल्ल, स्वस्तिमा खड्का लगायतका कलाकारको मुख्य भूमिका छ । कार्तिक ४ गतेबाट रिलिजमा आएको यो फिल्म चौथो हप्तामा हलमा चलिरहेको छ ।