प्रिमियरमा ‘दिमाग खराब’ हेरेपछि रोहित, सोमपाल र कुशलले भने- 'युवा पुस्तालाई राम्रो ज्ञान दिएको छ'
नेपाली हरूको दोस्रो ठुलो चाड तिहारको सम्मुख पारेर आज शुक्रबारबाट हलमा निश्चल बस्नेत निर्देशित फिल्म ‘दिमाग खराब’ प्रदर्शनमा आएको छ ।
‘लुट’बाट निर्देशनमा वाहवाही कमाएका निश्चलले ६ वर्षपछि कमब्याक गरेको फिल्म ‘दिमाग खराब’को रिलिजको पूर्व सन्ध्यामा बिहीबार साँझ ललितपुरस्थित लबिम मलको क्यूएफएक्स हलमा भव्य प्रिमियर आयोजना गरिएको थियो ।
प्रिमियर शोमा नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेल, क्रिकेटरद्धय सोमपाल कामी र कुशल भूर्तेलसमेत पुगेका थिए ।
उनीहरूले ‘दिमाग खराब’ प्रिमियरमा हेरे पश्चात् राम्रो बनेको प्रतिक्रिया दिए । फिल्मले दिएको सन्देश मन परेको धारणा राखे राख्दै सबै कलाकारको अभिनय एकदमै राम्रो रहेको बताएका छन् ।
क्याप्टेन रोहित पौडेलले भने, 'धेरैपछि नेपाली फिल्म हेर्न आएको हुँ, फिल्म रमाइलो लाग्यो । राम्रो बनेको छ । देशको हिसाबमा राम्रो सन्देश दिएको छ । अभिनय पनि सबै कलाकारको एकदमै राम्रो छ । मलाई दयाहाङ राई र अर्पण थापा दाइको अभिनय मनपर्यो ।’ पौडेलले आफू दयाहाङ राईको ठुलो ‘फ्यान’ रहेको समेत बताए ।
क्रिकेटर कुशल भुर्तेललाई पनि फिल्मले दिएको सन्देश मन परेको बताए । उनले, 'फिल्मले युवा पुस्तालाई राम्रो ज्ञान दिएको छ । जो जति पनि युवा वर्गहरू हुनु हुन्छ राजनीतिमा इच्छा राख्नु हुन्छ उहाँहरूलाई चाहिँ राम्रो सन्देश दिएको छ ।'
अर्का क्रिकेटर सोमपाल कामीले हामीजस्तो युवाले धेरै कुरा सिक्न पाउने र फिल्ममा असम्भव केही छैन भन्ने सन्देश दिएको बताएका छन् ।
सोमपाल भने, 'हाम्रो पनि अवस्था फिल्मको जस्तै थियो । हामी पनि धेरै संघर्ष गरेपछि यहाँ पुगेको छौँ । कहिले पनि केही चिज नहुँदा खेरी आफूलाई हार नखाने जहिले पनि आफ्नो सोच सधैँ माथि र उच्च राख्ने भन्ने कुरा यो फिल्मले भनेको छ । जति पनि सुपरस्टारहरू हुनुहुन्छ उहाँहरूले गरेको मेहनतको फल पाउने समय आइसकेको छ ।'
‘फिल्मको कथा राम्रो छ । हामीजस्तो युवाले धेरै कुरा सिक्न पाउँछौँ । जसरी हामी १० वर्षपछि विश्वकप पुथ्यौं, त्यसरी नै फिल्मले पनि सफलता प्राप्त गरोस्,’ उनले भने ।
सोमपालले निश्चल बस्नेतको इन्ट्री बबाल लागेको सुनाए । 'मलाई निश्चल दाइको इन्ट्री बबाल लाग्यो । म ठुलो फ्यान हुँ ।'
सिनेमा आर्ट्स र ब्ल्याक हर्स पिक्चर्सको निर्माण रहेको फिल्ममा खगेन्द्र लामिछाने, दयाहाङ राई, स्वस्तिमा खड्का, अपर्ण थापा, विजय बराल, सुमन कार्की, पुष्कर गुरुङ, माओत्से गुरुङ, राजन खतिवडा, रमा थपलिया, गौरभी आरएल सिंह, गीत अधिकारी, कृष्णभक्त महर्जन, धिरज भट्ट, राहुल सिवाकोटी, नवीन खड्कालगायतको अभिनय छ ।
प्रतिक्रिया