‘दिमाग खराब’ हेरेपछि रवि लामिछानेले भने - 'फिल्मले समाजमा परिवर्तन ल्याउन ठूलो भूमिका खेल्छ'
निश्चल बस्नेत निर्देशित फिल्म ‘दिमाग खराब’ आजबाट प्रदर्शनमा आएको छ ।
फिल्म रिलिजको पूर्वसन्ध्यामा बिहीबार साँझ ललितपुर स्थित लबिम मलको क्यूएफएक्स हलमा प्रिमियरको आयोजित गरिएको थियो । प्रिमियरमा फिल्मकर्मीदेखि राजनीतिकर्मीसम्म उपस्थित थिए ।
प्रिमियरमा फिल्म हेरि सकेपछि पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले ‘दिमाग खराब’ एकदमै राम्रो बनेको प्रतिक्रिया दिँदै हेर्नै पर्ने बताएका छन् ।
सभापति लामिछानेले भने, 'फिल्म एकदमै राम्रो बनेको छ, हेर्नै पर्ने बनेको छ। धेरै हिसाबले राम्रो छ । यसलाई केलाउने भन्दा पनि सम्रगरुपमा यसको सन्देश, मुलुकको अवस्था र अहिले भइरहेको अवस्थाको चित्रण गरेको छ । यसरी नै फिल्मको माध्यमबाट जनता जगाउने काम गर्नु भयो भने यो देशमा परिवर्तन सम्भव छ ।'
फिल्मले उठाएको कथावस्तुका कारण आफू प्रचारमा हिँड्न पनि तयार रहेको लामिछानेले बताए । फिल्म हेर्न लायक मात्र होइन, हेर्नै पर्ने छ । यसरी नै फिल्म, संगीत, सर्ट फिल्मबाट मुलुकको अवस्था चित्रण गरेर परिवर्तन ल्याउन सकिन्छ । कसैले हेर्न छुटाउन नहुने फिल्म हो । र, कोही नछुटोस्,’ उनले भने ।
‘समाजको आवश्यकतालाई फिल्मले सधैं प्रतिनिधित्व गरेको हुन्छ । बेला बखतमा यस्ता फिल्मले समाजमा परिवर्तन ल्याउन ठूलो भूमिका खेल्छ । ‘बलिदान’कै कुरा गर्नुस् या अहिले यो फिल्म,’ उनले अगाडि भने, ‘मैले अहिलेसम्म कुनै फिल्मलाई हेर्नै पर्छ भनेको छैन । यो फिल्म चाहिँ हेर्नै पर्छ भन्छु । सबैले हेर्नुपर्छ । यो फिल्मको प्रचारका लागि मलाई बोलाउनु हुन्छ भने पनि जान तयार छु ।’
प्रिमियरमा रवि लामिछानेसँगै चलचित्र विकास बोर्डकी पूर्व अध्यक्ष निकिता पौडेल, रास्वपाका सांसदहरु डोलप्रसाद अर्याल, सोविता गौतम, विन्दा कडायतसमेत पुगेका थिए ।
प्रतिक्रिया