‘दिमाग खराब’को प्रिमियरमा नेतादेखि सेलिब्रिटीको जमघट
आजबाट देशभरका हलमा रिलिजमा आएको फिल्म ‘दिमाग खराब’को बिहिबार बेलुकी लाबिम मलमा रहेको क्यूएफएक्स हलमा प्रिमियर गरिएको छ । रेड कार्पेट प्रिमियरमा नेतादेखि सेलिब्रिटीहरुको बाक्लो जमघट देखियो ।
फिल्म हेर्नका लागि काठमाडौं महानगरका मेयर बालेन शाह पनि पुगेका थिए । उनले पुरा अवधी फिल्म हेरेपनि कुनै पनि प्रतिक्रिया दिएनन् ।
फिल्म हेर्नका लागि पुगेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आम नेपालीले हेर्नैपर्ने फिल्मको रुपमा ‘दिमाग खराब’ बनेको बताए । उनले, फिल्म, संगीत र कलाको माध्यमबाट पनि देशको राजनीतिक अवस्थालाई फेर्न सकिने टिप्पणी गरे ।
यस्ता, रास्वपाकी सांसद सोभिता गौतमले पनि एउटा उत्कृष्ट फिल्म बनेको भन्दै सबै नेपालीले हेर्नैपर्नेमा जिकिर गरिन् ।
फिल्म हेर्न पुगेका कलाकार हरिवंश आचार्यले निश्चल बस्नेतले आम नेपालीको कथालाई सहज रुपमा भनेको बताए । निर्देशक ज्ञानेन्द्र देउजाले निश्चलले फेरि एक पटक फिल्म क्षेत्रमा ट्रेन्ड सेट गरेको तर्क गरे ।
फिल्म हेर्नका लागि कलाकार दीपकराज गिरी, निर्देशक दीपाश्री निरौला, कलाकार जितु नेपाल पनि हल पुगेका थिए । उनीहरुले पनि राजनीतिक कथालाई उत्कृष्ट तरिकाले भनिएको बताए ।
फिल्म हेर्न पुगेका नेपाली क्रिकेट टिमका क्याप्टेन रोहित पौडेलले आफूले राजनीति धेरै नवुझेपनि फिल्म उत्कृष्ट बनेको बताए । यस्तै, क्रिकेटर सोमपाल कामीले निश्चल बस्नेतको इन्ट्री आफूलाई गज्जब लागेको बताए । अर्का क्रिकेटर कुशल भुर्तेलले पनि फिल्मको सबै पाटो उत्कृष्ट रहेको बताए ।
एउटा नेताबाट प्रताडित बनेको व्यक्तिले कसरी पछि गएर नेताकै दिमाग खराब गर्छ भन्ने कथालाई फिल्मले सहज रुपमा भनेको छ । निश्चल बस्नेतले फिल्ममा थुप्रै सस्पेन्स राखेका छन् । फिल्मको प्रस्तुतिकरण शक्तिशाली छ । जसकाकारण, आम मानिसले यो फिल्मलाई मन पराउने विश्वास गर्न सकिन्छ ।
खगेन्द्र लामिछाने, दयाहाङ राई, अर्पण थापा, स्वस्तिमा खड्का, बिजय बराल, सुमन कार्की लगायतका कलाकारको अभिनय रहेको यो फिल्मलाई रौनक विक्रम कँडेलले निर्माण गरेका हुन् ।
प्रतिक्रिया