फिल्म 'दिमाग खराब'को मर्मस्पर्शी गीतमा खगेन्द्र र स्वस्तिमाको पीडा
निश्चल बस्नेत निर्देशित फिल्म 'दिमाग खराब' यही शुक्रवारबाट रिलिज हुँदै छ। तिहारको अवसर पारेर रिलिज हुन लागेको यस फिल्मले आज मर्मस्पर्शी भाव रहेको 'हजुरी' बोलको गीत सार्वजनिक गरेको छ।
गीतको भिडियोमा फिल्मका प्रमुख कालाकार खगेन्द्र लामिछाने र स्वस्तिमा खड्का मुख्य रूपमा फिचर भएका छन् भने दयाहाङ राई लगायतका कलाकारलाई समेत फिचर गरिएको छ। विशेष गरी गीतले फिल्मका प्रमुख दुई पात्र खगेन्द्र लामिछाने र स्वस्तिमा खड्काको पीडा बोलेको छ ।
यो गीत जयन जे वाइवाको शब्द, रचना तथा संगीतमा तयार भएको छ। ‘हजुरी’ गीतमा जयन जे कै स्वर छ भने महिला स्वरमा मिना निरौलाले साथ दिएकी छिन्।
यो गीत भुईँ मानिसको पीडालाई व्यक्त गरेको छ। नेपालको आम जनताको अवस्था परिवर्तन र तयार पारिएको भएको व्यवस्था परिवर्तनको दृष्टिमा। गीतका शब्दहरू निक्कै मर्मस्पर्शी छन्। गायक वाइवा र निरौलाले गीतलाई अझ उच्च बनाएको छ र दर्शक श्रोताको मन जित्ने स्वाभाविक छ।
सिनेमा आर्ट्स र ब्ल्याक हर्स पिक्चर्सको निर्माण रहेको फिल्ममा खगेन्द्र लामिछाने, स्वस्तिमा खड्का र दयाहाङ राईसँगै अपर्ण थापा, विजय बराल, सुमन कार्की, पुष्कर गुरुङ, माओत्से गुरुङ, राजन खतिवडा, रमा थपलिया भूमिका प्रमुख भूमिका रहेको छ । यस्तै फिल्ममा गौरभी आरएल सिंह, गीत अधिकारी, कृष्णभक्त महर्जन, धिरज भट्ट, राहुल सिवाकोटी, नवीन खड्कालगायतको पनि अभिनय छ। निर्देशक निश्चल बस्नेत र अभिनेत्री सुपुष्पा भट्ट पनि फिल्मको एक गीतमा विशेष भूमिकामा देखिएका छन्।
आकाश बरालको लेखन र मनोज पण्डित स्क्रिप्ट डाक्टर रहेको फिल्म राजनीतिक विषयमा केन्द्रित रहेर निर्माण भएको हो। फिल्ममा रौनक विक्रम कडेल निर्माता र सुरज बम ठकुरी कार्यकारी निर्माताको रूपमा रहेका छन्।
फिल्ममा सुशन प्रजापतिको छायांकन, निमेष श्रेष्ठको सम्पादन, जयन के बाइबा र बाबुल गिरीको संगीत, राजकुमार उप्रेतीको द्वन्द्व निर्देशन तथा रोहित शाक्यको ब्याकग्राउन्ड स्कोर छ।
फिल्मलाई काठमाडौँ भित्र गोविन्द शाहीको काफिया फिल्मस् र मोफसलमा मनोज राठी र उज्वल पौडेलले वितरण गर्दै छन्।
प्रतिक्रिया