शुभेच्छा भन्छिन्–‘म धेरै फिल्म गर्न चाहन्छु, तर फिल्मीकर्मीसँग चिनजान कम छ’
फिल्म ‘रणवीर र प्रेमा’मा काम गरेकी नायिका शुभेच्छा खड्का आफ्नो तेस्रो प्रोजेक्ट ‘चित्रा’ मार्फत पौषको २७ गतेबाट दर्शकमाझ आउँदैछिन् । यो फिल्ममा उनले नायक सन्तोष अधिकारीको जोडीको रुपमा काम गरेकी छिन् ।
यो फिल्मको कथा निकै मीठो रहेको र कथाले छोएपछि आफूले काम गरेको नायिका खड्का बताउँछिन् । शुभेच्छाले करिअरमा अहिलेसम्म ३ वटा मात्र फिल्ममा काम गरेकी छिन् । तर, आफूलाई अझै धेरै फिल्ममा काम गर्ने रहर भएको उनको भनाई छ ।
उनले पत्रकारहरूसँग भनिन्–‘म धेरै फिल्म गर्न चाहन्छु । अहिले राम्रो फिल्महरू बनिरहेको छ । तर, रहर भएपनि धेरै सिनेकर्मी साथीहरूसँग मेरो चिनजान छैन । कतिपयले मसँग काम गर्न सहज छैन भन्ने पनि सोच्नु हुन्छ होला । तर, विस्तारै विस्तारै म यहाँ काम गर्छु ।’
फिल्ममा काम गर्न फिल्मीकर्मीसँग राम्रो चिनजान हुनुपर्छ हो भन्ने प्रश्नमा शुभेच्छाले भनिन्–‘जुनै पनि ठाउँमा राम्रो चिनजान भयो भने काम गर्ने तरिका थाहा हुन्छ । मलाई यो फिल्मपछि फिल्म मेकरहरुले मन पराउनुभयो भने पक्कै पनि लिनुहुन्छ होला । मेरो सोच पनि यही हो । मलाई हतार छैन । विस्तारै अगाडि बढ्न चाहन्छु ।’
प्रतिक्रिया