अदालतलाई बोर्डको जवाफ–‘बोर्ड सदस्यको उजुरीपछि ‘प्रकाश’को नाम हटाइयो’
चलचित्र विकास बोर्डले उत्कृष्ट फिल्मको विधामा अवार्ड नदिएको बिषयमा उच्च अदालत, पाटनलाई लिखित जवाफ पठाएको छ । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले वारेसमार्फत पठाएको जवाफमा ‘राष्ट्रिय चलचित्र पुरस्कार’को कार्यविधी भन्दा बाहिर रहेर उत्कृष्ट फिल्ममा ‘प्रकाश’लाई छनोट गरिएको भन्दै बोर्डका सदस्य रविचन्द्र अधिकारीले उजुरी दिएको उल्लेख छ ।
रविको उजुरीपछि बोर्डले ३ सदस्यीय छानविन समिती गठन गरेको र छानबिन समितीले उजुरी सही भएको निष्कर्ष निकालेपछि फिल्म ‘प्रकाश’लाई उत्कृष्ट फिल्मको अवार्डबाट हटाइएको बोर्डले अदालतलाई लिखित जवाफ पठाएको छ ।
मेरो फिल्मसँग कुराकानी गर्दै बोर्ड सदस्य रविले भने–‘अवार्डको कार्यविधीमा नै कुनै पनि पार्टी विशेषको झण्डा गलत तरिकाले प्रयोग गर्ने, राष्ट्रपतिलाई असर पर्ने खालका फिल्मलाई अवार्ड दिन मिल्दैन भनिएको छ । जुरी सदस्यहरुले कार्यविधीलाई नै कुल्चिएर निर्णय लिएपछि मैले उजुरी दिएको हुँ ।’ कुनै पनि पार्टीको झण्डा गलत तरिकाले प्रयोग गर्न नपाइने रविको तर्क छ ।
बोर्डले पुरस्कारको अन्तिम निर्णयको अधिकार जुरीलाई नभएर विकास बोर्डलाई नै हुने जिकिर समेत गरेको छ ।
राष्ट्रपतिको हातबाट केही महिना अगाडि वितरण गरिएको ‘राष्ट्रिय चलचित्र पुरस्कार’मा ‘उत्कृष्ट फिल्म’को विधा नै हटाइएको थियो । तर, जुरीका एक सदस्यले उत्कृष्ट फिल्ममा ‘प्रकाश’को नाम आफूहरुले सिफारिश गरेको खुलासा गरेका थिए ।
यसपछि, फिल्मका निर्देशक दिनेश राउत र लेखक विकास सुवेदीले उच्च अदालत पाटनमा चलचित्र विकास बोर्डलाई विपक्षी बनाएर रिट दायर गरेका थिए । उनीहरुले, उत्कृष्ट फिल्मको नाम घोषणा गर्न र जुरीले सिफारिश गरेको वास्तविक नामलाई नै उत्कृष्ट फिल्मको अवार्डका लागि परमादेश जारी गर्न भन्दै रिट दिएका थिए ।
प्रतिक्रिया